उद्योग वाणिज्य महासंघ प्रतिनिधि मण्डल युरोप भ्रमणमा ,धादिङका पनि ३ जना सहभागी

1643 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । नेपाल र यूरोपेली राष्ट्रहरू बीच आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तार गर्न नेपाल उद्योग वाणिज्य महासंघको एक प्रतिनिधिमण्डल युरोप भ्रमणमा गएको छ ।

लगानी एवं पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा ५७ सदस्यीय महासंघको प्रतिनिधिमण्डल मंगलबार स्वीजरल्याण्ड प्रस्थान गरेको हो । टोलीमा धादिङ उद्योग वाणिज्य संघबाट पनि ३ जनाको सहभागिता रहेको छ । प्रतिनिधिमण्डलले स्वीजरल्याण्ड सहित फ्रान्स, जर्मनी, बेल्जियम, इटाली र नेदरल्याण्डको भ्रमण गर्नेछ । भ्रमणका क्रममा बेल्जियम र फ्रान्समा व्यवसायिक भेटवार्ताको आयोजना समेत हुने महासंघले जानकारी दिएको छ । सो क्रममा प्रतिनिधिमण्डलले आर्थिक÷व्यवसायिक सम्बन्ध विस्तारका साथै नेपालले आयोजना गर्न लागेको भ्रमण वर्ष २०२० को प्रवद्र्धन समेत गर्नेछ । राजनीतिक स्थिरता, स्थिर सरकार र हालै सम्पन्न लगानी सम्मेलन समेतलाई भ्रमणका दौरानमा हुने व्यवसायिक भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलले यूरोपियन लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्ने बताईएको छ ।

साथै प्रतिनिधिमण्डलले सो अवसरमा हुने व्यवसायिक भेटवार्तामा नेपालमा रहेको लगानीको वातावरण, नीतिगत सुधार आदिका विषयमा समेत प्रष्ट पार्नेछ । भ्रमणका क्रममा महासंघको प्रतिनिधिमण्डल अन्तराष्ट्रिय श्रम संगठनको जेनेभामा हुने बैठक तथा प्रधानमन्त्रीको फ्रान्स भ्रमणका क्रममा हुने बैठकहरूमा समेत सहभागी हुने कार्यक्रम छ । यूरोप र नेपालका व्यवसायीहरू बीच अनुभव आदान–प्रदान हुने उक्त व्यवसायिक भ्रमण महत्वपूर्ण हुने प्रतिनिधिमण्डलका नेता एवं महासंघका उपाध्यक्ष प्रधानले जानकारी दिनुभयो ।

महासंघको प्रतिनिधिमण्डलका सदस्यहरूमा महासंघका प्रदेश नंम्बर१ का अध्यक्ष नरेन्द्र कुमार खड्का, कार्यकारिणी समिति सदस्य मनिषलाल प्रधान, निवर्तमान कार्यकारिणी समिति सदस्य सुदर्शन कार्कीका साथै धादिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष राजराम सिलवाल, सदस्य अनिल कोइराला र संघका प्रमुख व्यवस्थापक रोहित भण्डारी साथै अन्य जिल्लाका अध्यक्ष , पदाधिकारी एवं प्रतिनिधि उद्यमी व्यवसायीहरू रहेका छन ।