तरुण दल धादिङका उपाध्यक्ष राधाकृष्ण भण्डारी ‘राधे’ पक्राउ

2860 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ २३ जेठ – नेपाली काँग्रेस निकट नेपाल तरुण दल धादिङका उपाध्यक्ष राधे उपनामले चिनिने राधाकृष्ण भण्डारी गुण्डागर्दीको आरोपमा पक्राउ परेका छन् ।  बुधबार साँझ धादिङको वेनिघाट रोराङ गाउँपालिका ३ कात्राकबाट भण्डारीसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो।धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार खुँडा र चक्कु देखाउँदै स्थानीय सर्वसाधारणलाई कुटपिट गरिरहेका बेला उनलाई पक्राउ गरिएको हो।

पछिल्लो समय राजनिती संगै ठेक्कापट्टामा सक्रिय रहँदै आएका भण्डारीले चालु आर्थिक बर्षका लागि गजुरी गाउँपालिकाबाट निकासी हुने रोडा ढुंगा बालुवाको  निकासी कर संकलनको ठेक्का संचालन गर्दै आईरहेका छन । सोही ठेक्का अन्तरगत मलेखु खोलाबाट गाउँतिर निकासी हुने रोडा ढुंगा, वालुवाको कर उठाउने बिषयमा भण्डारी समूहका युवा र स्थानीयका बिच विवाद हुंदै आएको थियो,बुधवार दिउँसो पनि स्थानीय संग भण्डारी समूहको झगडा परेको र सोक्रममा भण्डारी समूहले हतियार देखाएको आरोप लागेपछि प्रहरीले भण्डारी समूहलाई पक्राउ गरेको हो ।

पृथ्वीराजमार्गको मलेखु बाट ताल्ती हुंदै चितवनको भण्डारा जोडिने चेपाङ मार्गमा स्थानीयबासी संग झगडा भएको र  हतियार प्रदर्शन गरेको आरोप पछि प्रहरीले अनुसन्धानका लागि भण्डारीलाई नियन्त्रणमा लिएको वताईएको छ । भण्डारी समूहले हतियार देखाएर रकम असुल गरेको भन्ने आरोप लागेको छ । राधेलाई नियन्त्रणमा लिन गएको प्रहरीमाथि राधे समूहले आक्रमण गरेको प्रहरीको दावी छ ।

तत्कालिन नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्ष समेत रहेका दिनेश अधिकारी (चरी) लाई काठमाण्डौं सतुंगलमा २०७० असार २१ गते राती गोली हानेर घाईते बनाएको घटनाबाट राधे चर्चामा आएका थिए । संगठित अपराध सञ्चालन गरी सम्पत्ति आर्जन गरेको अभियोग लागेका दिनेश अधिकारी (चरी) लाई २०७१ साउन मा प्रहरीले  हत्या गरेको थियो ।

भण्डारी पक्राउ परेको र उनको बारेमा अनुसन्धान भईरहेको धादिङ प्रहरीले जनाएको छ । भण्डारी नीलकण्ठ नगरपालिका वडा नम्बर ३ धादिङबेसीका वासिन्दा हुन ।