पढ्न गएका सुनिल पासो लगाएर झुण्डिएको अवस्थामा भेटिए

1187 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२९ जेठ – धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ मा १३ बर्षिय बालकको आत्महत्या रहस्यमय बन्न पुगेको छ ।
विद्यालयमा पढ्न गएर घर फर्कनेक्रममा बाटोबाटै हराईरहेका १३ बर्षिय सुनिल परियारको शव मंगलबार घर नजिकैको जंगलमा चिलाउनेको रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको थियो । जेठ २६ गते आईतबार दाजु भाई बिद्यालयबाट संगै घर फर्किएकोमा घर नजिकै चौतारामा पुगेपछि भाईलाई घर पठाएर सुनिल त्यहिँ बसेको र त्यसपछि उनि हराएको आफन्तहरुले वताए ।

स्थानीय कालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत सुनिल परियारको शव भेटिएको ठाउँमा उनले भाईलाई सम्वोधन गरेर लेखिएको एउटा पत्र भेटिएकाले सुनिलले आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । ‘शव नजिकै  कापीमा लेखिएको एउटा नोट भेटिएको छ हामी त्यस्को अनुसन्धान गर्दैछौं ‘- धादिङका प्रहरी नायव उपरिक्षक राजकुमार वैदवारले वताउनु भयो ।

स्कुलको ड्रेसको सर्टको पासो बनाएर झुण्डिएको मृत अवस्थामा भेटिएका सुनिलले कापीमा रातो मसिले भाईलाई सम्बोधन गरेर लेखेको पत्रमा भनिएको छ ,‘भाई तिमीलाई बुबा आमाले मायाँ गर्नुहुन्छ,मलाई मायाँ नी गर्नुहुन्न र पिट्नुहुन्छ त्यसैले तिमी बुबा आमा सँगै बस्नु म मर्छु’। बाबु आमाको माया नपाएकै भन्दै १३ बर्षको वालकले सु्साईड नोट लेखेर आत्महत्या गरेको बिषयलाई धेरैले गम्भिर रुपमा लिएका छन् । ३ दिन देखि हराईरहेका छोराको शव भेटिएपछि आमा बुबानै बेहोस भएका थिए । आमा बुबा दुवैको होस खुलेपनि निकै कमजोर देखिएपछि जिल्ला अस्पताल धादिङमा उपचार भईरहेको छ ।

पढाई राम्रै रहेको भएपनि विपन्न भएका कारण उनका कतिपय आवश्यकता पुरा गर्न असमर्थ हुंदा अभिभावक छोरालाई गाली गरेको हुन सक्ने छिमेकीहरु बताउँछन् ।

  • सांकेतिक तस्बिर