गंगाजमुनामा सुत्केरीका लागि कुरुवा घर र ल्याब सेवा शुरु गरिंदै

1454 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको गंगाजमुना गाउँपालिकाले पालिकाभित्रका सबै स्वास्थ्यचौकीमा सुत्केरीका लागि कुरुवा घर र ल्याब सेवा सञ्चालन गर्ने भएको छ ।

सरकारले स्वास्थ्य संस्थामा सुत्केरी गराउने र घरमा हुने सुत्केरीलाई शून्य गराउने कार्यक्रम अघि सारेकोले विभिन्न वडामा मागको आधारमा सुत्केरी कुरुवा घर बनाई सुरक्षित सुत्केरीका लागि प्रोत्साहन गर्नेगरी योजना बनाएको गाउँपालिकाका स्वास्थ्य संयोजक दीपक अधिकारीले बताउनुभयो ।

जिल्लाको उत्तरी भेगमा पर्ने गंगाजमुना गाउँपालिका वडा नं २ को रि स्वास्थ्यचौकी जिल्लाकै विकट स्थानमा रहेको छ । यस स्वास्थ्यचौकीमा केही समयअघि प्रसूतिका लागि आएकी सुन्चली तामाङलाई सुत्केरी कुरुवा घर अभावमा घरै फर्काउनु परेपछि गाउँपालिकाले सो स्थानमा तुरुन्तै घर निर्माण गर्न प्रक्रिया अघि बढाउन लागेको हो ।


घरमा हुने सुत्केरी शून्य गराउने अभियानलाई सार्थकता दिनका लागि स्वास्थ्यचौकीमा प्रसूति कुरुवा घर आवश्यक भएको गाउँपालिकाका स्वास्थ्य संयोजक अधिकारीको भनाइ छ । सुुत्केरी हुनुपूर्व र सुत्केरी भइसकेपछि बस्ने घर नभएका कारण प्रसूतिका लागि आएका महिलालाई घरै फर्काउनु् परेको रि स्वास्थ्यचौकीका इन्चार्ज रमेश पोखरेल बताउनुहुन्छ ।

गाउँपालिकाले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन गाउँगाउँमा स्टेचर वितरण गरिने, स्वास्थ्यचौकीमा औषधिको अभाव हुन नदिने, सबै स्वास्थ्य संस्थाहरुमा ल्याब सेवा सञ्चालन गरिने, गाउँपालिकास्तरमा एउटा सुविधासम्पन्न अस्पताल निर्माण गर्ने, एम्बुलेन्स सेवा सञ्चालन गर्ने, स्वास्थ्यचौकीमा भएका सबै उपकरण प्रयोगमा ल्याउने, आवश्यक पर्ने विद्युत् सेवाका लागि पहल गर्ने, सम्भव नभए सोलारबाट विद्युत् उर्जा खपत गर्ने तयारी गरिरहेको गाउँपालिकाका स्वास्थ्य संयोजक अधिकारीले बताउनुभयो ।

यसैगरी तावल गाउँमा खोप क्लिनिक बनाउने, सबैको पहुँचमा स्वास्थ्य सेवा पु¥याउन सबै किसिमको उपायहरु खोजी गरिने भएको छ ।

जिल्लाको दुर्गममा रहेको गाउँपालिका भएकाले यहाँका गाउँबस्ती पनि निकै विकटमा रहेका छन् । स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नुपर्ने, स्वास्थ्य सेवा पहुँच वृद्धिका लागि योजना बनाउनुपर्ने, विद्यालयस्तरमा स्वास्थ्य सेवाका सचेतनामूलक कार्यक्रमहरु गाउँपालिकाको तर्फबाट सञ्चालन गर्न समुदायले आग्रह गरेका छन् ।गंगाजमु्ना गाउँपालिकाका स्वास्थ्य संस्थाहरुको सामाजिक  परिक्षण कार्यक्रममा सर्वसाधरणको जिज्ञासाको जवाफ दिंदै गाउँपालिकाले यस्तो निर्णय गरेको हो ।सामाजिक परिक्षण कार्यक्रमको समुदायस्तर देखि गाउँपालिका क्षेत्रसम्म पत्रकार सीताराम अधिकारीले सहजीकरण गर्नुभएको थियो ।