खोला जस्तै बन्यो पृथ्वीराजमार्ग,बैरेनीवजार क्षेत्र डुवानमा

4599 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

बैरेनी- झट्ट हेर्दा कुनै खोला बाट मोटर गुडिरहेको जस्तो देखिने यो दृश्य देशको सबैभन्दा ठूलो र व्यस्त पृथ्वीराजमार्गको धादिङको बैरेनी वजार क्षेत्रको हो । देशकै सबैभन्दा व्यस्त पृथ्वीराजमार्गको बैरेनी वजार क्षेत्रमा आज जताततै भलबाढीले राजमार्ग मात्रै होइन वजार क्षेत्रका दर्जनौ घर डुवानमा परेको छ ।  गल्छी गाउँ पालिका वडा नम्बर ६ मा पर्ने वागेश्वरी माध्यमिक बिद्यालय अघिल्तिरको यो दृष्य देख्दा पृथ्वीराजमार्ग होइन कुनै खोलाबाट मोटर गुडिरहेको जस्तो देखिन्छ ।

गल्छी गाउँपालिकाको केन्द्ररहेको बैरेनीवजारको दायाँबायाँको सडक खण्डमा भलबाढी बग्दा सडक नदी जस्तै हुन पुगेको हो । लेदो माटो सहितको बाढीले सवारी आवागमनमा समेत अवरोध पु¥याएको छ ।राती देखि परिरहेको पानी विहान सम्म नरोकिएपछि वजार क्षेत्रमा डुवानको समस्या बढ्दै गएको हो ।

देशका ६७ जिल्लाका साथै छिमेकी देश भारतबाट स्थलमार्ग हुंदै नेपालको राजधानी आउने र राजधानी काठमाण्डौंबाट वाहिरिने हजारौं सवारी साधन गुड्ने राजमार्गको यो हालत गाउँपालिकाको बेहिसाव विकासले गर्दा हुन पुगेको हो । राजमार्गलाई छेडेर जथाभावी गाउँ तिर लगिएका ग्रामीण सडक, सडक भन्दा माथि तिर खोलिएका बालुवा उत्खनन केन्द्रका कारण भल बाढीले लेदो बगाउँदै राजमार्गमा ल्याई पु¥याएको हो ।


राजमार्गको आवागमननै ठप्प हुने गरी सडकमा भलबाढी पसेको आज पहिलो पटक भने होइन बर्षौ देखि यो समस्या कायमै रहेको छ । दिर्घकालिन सोच विना खनिएका सडकबाट बर्षातको बेला  गाउँ गाउँबाट माटो र ढुंगा बगाउँदै राजमार्गमा ल्याएर थुपार्ने गरेको छ । हरेक बर्ष सडक निर्माण, स्तरोउन्नती र मर्मत सम्भारको शिर्षकमा करोडौं खर्च गर्दै आई्रहेको गाउँपालिकाले सडकलाई बलियो बनाएर भलबाढी सिधै राजमार्गमा खस्ने कार्य रोक्न भने सकेको छैन ।


पृथ्वीराजमार्गको यो अबस्थाले गल्छी गाउँपालिकाको बिकासलाई झल्काईरहेको छ । गाउँमा जताततै खोलिएका सडकको लगानी बगेर अहिले राजमार्गमा आईपुगेको छ । हचुवाको भरमा ग्रामीण भेगमा जताततै डोजर लगाएर भूक्षय बढाउनु गाउँपालिकाको लागि सबै भन्दा ठूलो बिकास बनेको उदहारण पनि हो यो । बैरेनी वजारको गर्दो खोला देखि महेशदोभान सम्मको सडक हिलाम्मे हुनुमा मुख्य कारण सडक छेउको खोलाको निकास थुनिनु रहेको छ ।

खोला मिचेर यस क्षेत्रमा सर्यौ पक्की घर, टहरा, बिद्यालय, अन्य उद्योगहरुको लागि संरचना निर्माण गरिंदा पनि स्थानीय सरकार यस्तो गलत कार्य रोकथाममा निरिह बन्दै गईरहेको छ । शक्ति र बल मिच्याईको भरमा खोलाको धार नै परिवर्तन गराईदा पनि स्थानीय तहले रोकथामका लागि कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ । गाउँबाट झरेको भलबाढी राजमार्गमा खसेपछि सडकको आवागमन मात्रै रोकिएको छैन बैरेनी वजारका दर्जनों घरमा भलबाढी पसेर समस्या उत्पन्न भएको छ ।

तस्बिरहरु :  रामप्रसाद अधिकारीबाट