पहिरोले पृथ्वीराजमार्ग अबरुद्ध दिनभरीनै आवागमनमा समस्या

1304 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १२ असार -रातभरी परेको पानीले ग्रामीण सडक र खोल्साहरुबाट आएको लेदो भलबाढी सडकमा जमेपछि अबरुद्ध हुन पुगेको पृथ्वी राजमार्गको गल्छी देखि गजुरी सम्मको खण्डमा विहिवार दिनभरीनै सवारी आवागमनमा समस्या भएको छ । महेशदोभान- बैरेनी वजार सम्मको सडक खण्ड आठ घण्टा पछि संचालनमा आएर अवरोध खुले पनि सवारी चापका कारण दिनभर जस्तै सवारी आवागमनमा भने समस्या आएको थियो ।


धादिङको गल्छी गाउँपालिका–६ बैरेनीबजार गर्दोखोला मोडबाट महेशदोभान बजारसम्म डेढ किलोमिटर सडकमा ठाउँ ठाउँमा बालुवा र माटोको लेदो जमेपछि राती २ वजे देखि सवारी आगमन ठप्प हुन पुगेको थियो । लेदो माटो र ढुंगा थुप्रिंदा सडकमा नदीको बगर जस्तो भएको थियो । देशका ६७ जिल्ला र भारतबाट सडक मार्ग हुंदै राजधानी प्रवेश गर्ने मुख्य सडकको रुपमा रहेको पृथ्वीराजमार्ग अबरुद्ध हुंदा हजारौं व्यक्ति प्रभावित हुने गर्दछन । बिहीवार पनि हजारौं यात्रु बिच बाटोमै अलपत्र परेका थिए ।


राष्ट्रिय राजमार्ग भन्दा माथि तिर जताततै ग्रामीण सडक निर्माण गरिनुका साथै बालुवाका लागि डाँडापाखा खनिएका छन । जस्का कारण बर्षात संगै माटो वग्दै आएर राजमार्ग अबरुद्ध हुन पुगेको हो । राजमार्गको गर्दो खोला देखि बैरेनी वजारहुंदै महेशदोभान सम्म ठाउँ ठाउँबाट लेदो माटो बग्दै सडकमा थुप्रिएको कारण सवारी आवागमन ठप्प हुन पुगेको महेशदोभानका विपिन मल्ल ठकुरीले वताउनुभयो । राती देखि सयौं सवारी साधन सडकमा रोकिएर हजारौं यात्रुको बिचल्ली भएपछि गाउँपालिकाको समन्वयमा दुई घण्टा भन्दा बढि आठ वटा डोजर मार्फत सडकमा थुप्रिएको लेदो पन्छाएर दुईतर्फि सवारी आवागमन खुलाईएको धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो ।

अव्यवस्थित ढंगबाट बनाईएका ग्रामीण सडक र वालुवा उत्खननका लागि खनिएका कारण पानी पर्ना साथ राजमार्गमा लेदो माटो सहितको पहिरो र भल खस्ने गरेको छ । राती देखि सडक अवरुद्ध भएपछि यसलाई हटाउन स्थानीय बालुवा व्यवसायी र गाउँपालिकाले राजमार्गमा डोजर लगाएका हुन । सडक अवरुद्ध हुंदा दुवै तर्फ री १० किलोमिटरसम्म राजमार्गमा यातायात साधन रोकिएका थिए । यसै गरी लेदो माटो सहितको भल बाढीका कारण पृथ्वीराजमार्गको अन्य स्थानमा पनि सवारी आवागमन रोकिन पुगेको थियो ।

लेदो माटो सडकमा खसेपछि त्यस्को मार बैरेनी वजारका घरमा समेत परेको छ । एक दर्जन भन्दा बढी घरमा बाढी पसेको स्थानीयले वताएका छन । वजारको पछाडी रहेको खोलोलाई छेकेर पानीको वहावनै रोकिने गरी संरचना निर्माण गरिएका कारण बजार क्षेत्रमा पानी पर्ना साथ खोलो थुनिएर सडकबाट पानी बग्ने गरेको भएपनि नियन्त्रणका लागि कसैले चासो नदिंदा बर्षेनी समस्या बढ्दै गएको स्थानीय शिक्षक रामप्रसाद अधिकारी बताउनहुन्छ ।