अध्यक्ष अमेरिका उडेपछि गल्छी गाउँपालिकाको बजेट अन्यौलमा

1309 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१३ असार, – सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले असार १० गतेभित्र अनिवार्य नीति तथा कार्यक्रम एवम बजेट ल्याउन स्थानीय तहलाई जारी गरेको निर्देशन धादिङका केही स्थानीय तहमा कार्यान्वयन हुन सकेको छैन ।

जिल्लाका स्थानीय तहले असार १० गतेभित्र बजेट सार्वजनिक गरेपनि गल्छी गाउँपालिकामा भने अहिलेसम्म मिति समेत तय हुन सकेको छैन । यसबारे गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठ निजी काममा अमेरिका भ्रमणमा रहेकाले आगामी बर्षको निती तथा कार्यक्रम र बजेट ल्याउन नसकिएको गल्छीका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडीले बताउनुभयो ।

बजेटको तयारी गर्नु पर्ने बेलामा छोराछोरीलाई भेट्न भन्दै अध्यक्ष श्रेष्ठ अमेरिका तिर लागेपछि कार्यपालिकाको बैठक समेत बस्न नसकेको एक वडा अध्यक्षले वताए । अध्यक्ष श्रेष्ठ असार ५ गते अमेरिका उडेका हुन् । शुक्रवार गाउँपालिका उपाध्यक्ष राधा तिमिल्सिनाको अध्यक्षतामा कार्यपालिकाको बैठक बसेपनि निति तथा कार्यक्रमका लागि अख्तियारी नभएकाले बैठकमा कार्यक्रममा समेटिनु पर्ने बिषयमा सामान्य छलफल भने भएको उपाध्यक्षले वताउनु भयो ।

असार २५ गते फकर्ने गरी अमेरिका गएका अध्यक्ष श्रेष्ठले उपाध्यक्षलाई गाउँ सभा गराउने अधिकार नदिएपछि निती तथा कार्यक्रम र बजेट दुवै रोकिन पुगेको हो । त्यसो त चालु आर्थिक बर्षको लागि निति तथा कार्यक्रम र वजेट पनि अन्तिम समयमा ल्याईएको थियो । धादिङको गल्छी,रुवीभ्याली,त्रिपुरासुन्दरी र गङ्गाजमुना गाउँपालिका र धुनीबेँसी नगरपालिकाले असार १० गते निति तथा कार्यक्रम र वजेट ल्याउन सकेका थिएनन् । दुई नगरपालिका र ११ गाउँपालिका समेत गरी जिल्लाका १३ स्थानीय तहमध्ये पाँच स्थानीय तहले तोकिएको मितिमा नीति तथा कार्यक्रम एवम बजेट ल्याउन नसकेका हुन ।