बेनिघाट रोराङका वडा सदस्यलाई आफ्नै घरमा गोली प्रहार

1088 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १९ असार-  धादिङको वेनीघाट रोराङ गाउँपालिका वडा नंम्बर ८ का वडा सदस्य रामजी चेपाङलाई बुधवार साँझ आफ्नै घरमा गोली हानिएको छ । चितवनको राप्ती नगरपालिका वडा नं १३ स्थायी घर भएका इन्द्रकुमार चेपाङले बुधवार साँझ रामजीलाई गोठीभन्ज्याङ स्थित आफ्नै घरमा खाना खाईरहेको बेला टाउकोमा गोली प्रहार गरेका हुन ।

प्रहरीका अनुसार चितवनको राप्ती नगरपालिका १३ काम्दा निवासी इन्द्रबहादुर चेपाङले रामजीलाई गोली हानेको प्रारम्भिक अध्ययनबाट खुलेको छ । दुई महिनाअघि काम्दामा सञ्चालित कुमार चेपाङ छात्राबासमा बस्ने २ जना चेपाङ किशोरीलाई बलात्कार प्रयास गरेको आरोपमा मुद्दा लागेपछि फरार रहेका इन्द्रले बुधवार सांझ भरुवा बन्दुकले रामजीलाई गोली प्रहार गरेको प्रारम्भिक सूचना प्राप्त भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

बलात्कार मुद्दामा आफूलाई पक्राउ गर्न प्रहरीलाई सहयोग गरेको रिसइबीमा इन्द्रले रामजीलाई गोली हानेको हुन सक्ने रामजीका परिवारले बताएका छन् ।गोली प्रहारबाट रामजीको टाउकोमा गम्भिर चोट लागेकोे छ । घाईते रामजीको काठमाडौँ स्थित नर्भिक अस्पतालमा आइसियुमा राखेर उपचार भइरहेको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष हरि डल्लाकोटीले बताउनुभयो ।
जंगलमा रहेको ओडारमै बस्दै आईरहेको आशंकामा पटक पटक उनको खोज तलास गर्दा बस्ने ओढार पत्ता लागेपनि व्यक्ति भने फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।

बुधवार साँझको घटना पछि इन्द्रवहादुर फरार रहेको र उनको खोजीका लागि जिल्ला प्रहरी कार्यालय धादिङ,इलाका प्रहरी कार्यालय गजुरी र स्थानीय प्रहरी चौकीको बिशेष टोली घटनास्थल तर्फ परिचालित भइसकेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता रुपक खड्काले बताउनु भयो ।

  • तस्बिर – सांकेतिक गुगलसर्चबाट