दाताहरुले बनाईदिएको घरमा बस्न मानेनन् शुक्रबहादुर , फर्किए त्रिशूली बगरमै (भिडियो सहित)

1958 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२५ असार – तुईन वाजेको नामले चिनिएका धादिङ चरौंदीका शुक्रबहादुर चेपाङ सहयोगी दाताहरुले बनाईदिएको नयाँ घरमा नबस्ने भएका छन् । हाँस्यकलाकार कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) को प्रमुख आतिथ्यतामा असार ८ गते शुक्रवहादुरलाई नयाँ घर हस्तान्तरण गरिएको थियो । त्रिशूली नदीको किनारमा बर्षौ देखि कष्टकर जिवन विताउँदै आएका चेपाङ अब कहिल्यै नबस्ने भन्दै एक रात नयाँ घरमा बसेर फेरी पहिल्यैकै ठाउँमा फर्किएका छन् ।

हेर्नुहोस भिडियो

आठ दशक उमेर पार गरिसकेका शुक्रबहादुर २० वर्ष देखि गोरखाको घ्यालचोकबाट धादिङको चरौंदी जोड्ने त्रिशूली नदी माथिको तुईन तानेर जिविकोपार्जन गर्दै आईरहेका थिए । असार ८ गते आइतबार एक कार्यक्रमका बीच भद्रगोल हांस्य सिरियलका कलाकारहरु जिग्री र पाँडे , ‘सिते बा; व्यवसायी हरि काफ्ले, स्थानीय बासिन्दाको व्यापक उपस्थितीमा धादिङको वेनिघाट रोराङ गाउपालिका वडा नं ७ मा निर्माण गरिएको घर शुक्रवहादुरलाई हस्तान्तरण गरिएको हो ।

सञ्चारकर्मी श्यामहरि शिवभक्तिको संयोजनमा स्वदेश तथा विदेशमा रहेका नेपालीको सहयोगमा शुक्रवहादुरको लागि नयाँ घर निर्माण गरिएको हो । फिल्मीकुरा डट कम युट्युव च्यानलका संचालक समेत रहेका पत्रकार शिवभक्तिले ६ महिना अघि शुक्रवहादुरको कारुणिक दिन चर्याका वारेमा समाचार लेखेपछि उनको सहयोगमा देश विदेशमा रहेका नेपालीहरु जुटेका थिए ।

देश विदेशमा रहेका नेपालीहरुले सहयोग जुटाएर चेपाङको लागि बनाईएको घर प्रयोग विहिन भएको छ । आर्थिक अभावका कारण ८० बर्षको उमेरमा दिनहुं तुइन तानेर आफ्ना अशक्त छोराको समेत लालन पालन गर्दै आईरहेको शुक्रवहादुर लाई त्रिशूली नदी किनारबाट पञ्चैवाजा वजाएर नाच गान गर्दै गाउँले र सहयोगी दाताहरुले नयाँ वनाईएको घर सम्म पु¥याएका थिए ।

जिग्री र पाँडेले शुक्रबहादुरको हातको नङ काट्दै नयाँ घरको चाबी दिएर घर हस्तान्तरण गरेका थिए । ‘ शुक्रवहादुरलाई आफ्नै नयाँ घरमा राख्न पाउँदा एउटा पूण्यको काममा सहभागी हुन पाएको भन्दै जिग्रि र पाँडेले व्यक्त गरेको खुसी एक दिन पनि टिकेन ।

शुक्रवहादुरको लागि नयाँघर निर्माणका लागि वेलायतमा बस्ने चार दिदि वहिनीहरु गिता,शारदा, कौसिला र सम्सिला गुरुङ, धादिङबेसी बिचवजार घर भई अष्ट्रेलियामा बसोवास गरिरहेका कुमार अधिकारीका साथै विभिन्न देशमा रहेका नेपाली दाजुभाई दिदि वहिनीले सहयोग जुटाएका थिए ।


नयाँ घरमा बस्न पाउँदा निकै खुसी देखिएका शुक्रबहादुर अहिले घरमा गएर नबस्ने भन्दै नदी किनारमा फर्कनुलाई धेरैले दुःखद घटना भएको बताएका छन् । घरको चाबी लिंदै गर्दा शुक्रवहादुरले भनेका थिए ‘घर थिएन, जग्गा थिएन । अब त जग्गा पनि पाएँ, घर पनि पाएँ ।यो उमेरमा अब तुईन तान्न जाँदिन ।’ शुक्रबहादुर सँग एक छोरा बस्छन् । शारिरीक रुपमा अशक्त उनका छोरा बोल्न र सुन्न सक्दैनन् । सोही छोराको कारण देखाउँदै चेपाङ बाउ छोरा निकै सांघुरो र फोहोरले ढाकिएको तुईनको जिप तलको भागमा बसिरहेका छन् ।

उनिहरु बर्षौ देखि यहि ठाउँमा बस्दै आईरहेका थिए । चरोंदी स्थित सहकारीको तरकारी संकलन केन्द्रमा तरकारी ल्याउनका लागि गोर्खा जिल्लाका किसानहरुले सो तुईनको प्रयोग गर्दै आईरहेका छन् । तुइनको नजिकै झोलुङ्गे पुलको निर्माण शुरु भएपनि समयमै काम सम्पन्न नहुंदा गोर्खा जिल्लाको घ्यालचोकका किसानले तुईन हटाउन मानेका छैनन् । शुक्रवहादुर सोही तुईन तानेर जिवन निर्वाह गर्दै आईरहेका छन् ।