सलाङघाट बस दुर्घटना मृतकको संख्या ८ पुग्यो- पाँच जनाको मात्रै सनाखत

1356 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २५ साउन – शुक्रबार विहान धादिङको बेनीघाटरोराङ–३ सलाङघाटमा भएको बस दुर्घटनामा परि मृत्यु हुनेको संख्या ८ पुगेको छ । २५ जना अझै हराईरहेका छन् । अहिले सम्म मृतक मध्ये ५ जनाको मात्रै सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारका अनुसार भारतीय नागरिक अजय दास र विजय कुर्मी, बसका कण्डक्टर ऋषि उप्रेतीको शवको शुक्रबार नै पहिचान भएको थियो । धादिङको कृष्णभीर नजिकै त्रिशूली नदीमा फेला परेका २ शवको पनि पहिचान भएको छ । पहिचान भएका ती शवहरु सर्लाहीको मलंगवा १ निवासी ४० वर्षका सुनिलकुमार श्रीवास्तव र उनकी श्रीमती ३५ वर्षीया नीमा श्रीबास्तवे भएको उनिहरुका आफन्त मार्फत पहिचान गरिएको हो ।


दुर्घटनामा परेर हराईरहेका व्यक्तिहरुको खोजीका लागि शनिवार विहानै देखि नेपाल प्रहरीको धादिङ, चितवन, गोरखा, तनहुँ र नवलपरासीका त्रिशूली नदी आसपासका स्थानीय यूनिटहरु संग समन्वय गरि खोजतलास भईरहेको छ । यसै गरि सशस्त्र प्रहरी बल विपद व्यवस्थापन गण कुरीनटारको टोलीले डुंगाको प्रयोग गरि बेपत्ताको खोजी गरिरहेको प्रहरी उपरिक्षक वैदवारले जानकारी दिनु भयो ।


कन्डक्टर उप्रेतीको शव गोर्खा जिल्ला तर्फको त्रिशूली किनारमा फेलापरपछि प्रहरीले दिएको तस्बिरका आधारमा उप्रेतीका आफन्तले शवको पहिचान गरेका हुन् । शुक्रबार चितवनको देवघाट र जुगेडीमा फेला परेका २ जनाको भने अझै सनाखत हुन नसकेको प्रहरी उपरीक्षक वैदवारले बताउनु भयो । दुर्घटनामा परेर ज्यान गुमाएका एक महिला र एक बालिकाको सनाखत हुन सकेको छैन । घटनास्थल र शव राखिएका अस्पतालमा दुर्घटनामा बेपत्ता भएका व्यक्तिका आफन्तहरु आउनेक्रम बढ्दै गएको छ ।

शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौंतर्फ जांदै गरेको न्यू सृष्टि डिलक्सको ना ६ ख ७४६९ नम्बरको बस सडकबाट २०० मिटर तल त्रिशूली नदीमा खसेर दुर्घटना भएको थियो ।