नेकपा स्वास्थ्य विभाग प्रमुखमा राजेन्द्र पाण्डे

2942 पटक पढिएको

प्रकाशित मिति: २०७६, ३१ श्रावण शुक्रबार २१:५९

सम्पादक: धादिङ न्यूज

 

 

धादिङ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्वास्थ्य तथा जनसंख्या विभागको नेतृत्व प्रदेश नम्बर ३ का सांसद तथा नेकपाका नेता पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र पाण्डेले पाएका छन् । शुक्रबार बसेको नेकपाको सचिवालय बैठकले पाण्डेलाई स्वास्थ्यको जिम्मेवारी दिएको हो ।

प्रदेश ३ सभाका सदस्य पाण्डे मनमोहन सहकारी तथा मनमोहन अस्पतालका अध्यक्षसमेत हुन् । पहिलो संविधान सभामा धादिङ क्षेत्र नम्बर ३ बाट तत्कालिन माओवादी पार्टीका नेता शालिकराम जमकट्टेल संग पराजित भएका पाण्डे दोश्रो संविधान सभामा जमकट्टेललाई पराजित गर्दै संविधान सभा विजयी भएका थिए । पाण्डे र जमकट्टृेल दुवै जना नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेता हुन् । दुवै जना अहिले ३ नम्बर प्रदेश सभाका सांसद हुन । प्रदेश सभामा पाण्डे मुख्य मन्त्रीका आकांक्षी थिए भने जमकट्टेल आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारीमा छन् ।पाण्डे नेकपा धादिङका संस्थापक नेता पनि हुन ।

बैठकले स्वास्थ्य तथा जनसंख्या विभागको उपप्रमुखको जिम्मेवारी प्रतिनिधिसभा सदस्य अञ्जना विसंखेलाई दिएको छ । उनी संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा सदस्य छिन् ।

शुक्रवार नै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विभिन्न ३३ केन्द्रीय विभागका प्रमुख तोकेको छ । बैठकले चर्चामा रहेको स्कूल विभागको प्रमुखमा उपप्रधानमन्त्री एवं सचिवालय सदस्य ईश्वर पोखरेललाई जिम्मेवारी दिएको छ ।

 यसैगरी बैठकले विदेश विभाग प्रमुखमा वरिष्ठ नेता माधवकुमार नेपाल तथा उपप्रमुखमा राम कार्की, संगठन विभाग प्रमुखमा सचिवालय सदस्य बामदेव गौतम, प्रचार विभाग प्रमुखमा प्रवक्ता श्रेष्ठ, नीति, अध्ययन प्रतिष्ठान विभाग प्रमुखमा नेता झलनाथ खनाल र अर्थ तथा योजना विभाग प्रमुखमा सुरेन्द्र पाण्डेलाई जिम्मेवारी दिएको छ ।

नेकपाले सातै प्रदेशका सहइन्चार्जसहित केन्द्रीय कार्यालयका सचिवहरु समेत तोकेको छ ।  बैठकले केन्द्रीय कार्यालय सचिवमा श्रीराम ढकाल र ईश्वरी रिजाल विश्वकर्मालाई चयन गरेको हो ।

उक्त बैठकले सातवटा प्रदेशमा थप दुई(दुईजना सहइन्चार्ज तोकेको छ । यसअघिनै सात प्रदेशमा एक एक सहइन्चार्ज चयन भइसकेका छन् । अब प्रत्येक प्रदेशमा तीन/तीनजना सहइन्चार्ज रहनेछन् ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७६, ३१ श्रावण शुक्रबार २१:५९ मा प्रकाशित