लालपुर्जा किर्ते गरेको आरोप झुठो भएको पौडेलको दावी

1358 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । १२ सय मेगावाट बिजुली उत्पादन गर्ने प्रस्तावित बुढीगण्डकी जलविद्युत आयोजनाको मुआव्जा लिनका लागि लालपुर्जा किर्ते गरी क्षेत्रफल बढाएर रकम असुलेको भनेर आफ्नो नाम जोडिएर प्रकाशित भएको समाचार प्रति धादिङको गंगाजमुना–७, निवासी ८४ बर्षिय होमनाथ पौडेलले आपत्ति जनाएका छन् । विभिन्न संचार माध्यममा प्रकाशित भएको समाचारले आफ्नो परिवारको मान मर्दन गर्नुका साथै वेइज्जती र अपमान भएको भन्दै पौडेलले समाचार प्रति गम्भिर ध्यानाकर्षण भएको भन्दै आपत्ति जनाएका हुन् ।

‘‘लालपुर्जा किर्ते गरि बुढीगण्डकीबाट ६३ लाख ठगी’’ शिर्षकको समाचार प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको वताउँदै पौडेलले समाचारमा भनिएको बिषयको सत्य, तथ्य खोजी गर्न आग्रह समेत गरेका छन् ।

समाचारमा भनिए जस्तो लालपुर्जा किर्ते नगरिएको र पुरानो लालपुर्जा हराएर नयाँ प्रतिलिपिका लागि दिएको निवेदन अनुसार मालपोत कार्यालयलेनै त्यहाँको अभिलेख अनुसार लालपुर्जा दिएको हुँदा जग्गाको क्षेत्रफल बढाउन आफ्नो र मालपोत अधिकृत तथा अन्य कर्मचारी संग कुनै सम्वाद, छलफल समेत नगरेको दावी गर्दै आंफु माथि ठगि गरेको आरोप लाग्नु सरासर गलत भएको पौडेलको दावी छ ।
साविकको बुढाथुम गाविस–९, हाल गंगाजमुना–७, निवासी पौडेलले मुआब्जाको रकम पाउन करिब दुई रोपनी मात्र रहेको जग्गालाई ११ रोपनीभन्दा बढी देखाई रकम ठगी गरेको भनि २०७६ साउन ३१ गते सौर्य अनलाइनमा प्रकाशित भएको समाचारलाई श्रोत खुलाएर धादिङ न्यूज डट कमले सोही दिन साभार गरि प्रकाशित गरेको थियो ।

डुबानमा पर्ने जग्गाको लालपुर्जा सहित स्थानीय प्रशासनमा मुआब्जा दाबी गर्ने सूचना प्रकासित भएलगत्तै २ रोपनी क्षेत्रफल मात्रै भएको आफनो लालपुर्जामा ११ रोपनीभन्दा बढी देखाई ७५ लाख रकम मुआब्जा बुझेको भन्ने आरोप पौडेल माथि लागेको छ । तत्कालीन बुढाथुम ७ को नापीस्थित नक्सा नम्बर, नक्सा सिट नम्बर ९ क अनुसार २०७३ वैशाख १३ गते नयाँ लालपुर्जा जारी गरी पौडेलले लिएको मालपोत कार्यालयको अभिलेखमा देखिएको छ ।

पौडेलको सो लालपुर्जामा कित्ता नं. ५८ फिल्ड बुकमा रेकर्ड भएको क्षेत्रफल जम्मा ०–१२–२–१ रहेको भनिएपनि, नयाँ लालपुर्जामा बढेर आएको ६ रोपनी ६ आना, कित्ता नं ५९ फिल्ड बुकमा रेकर्ड भएको क्षेत्रफल ०–११–०–० रहेको छ । तर, नयाँ लालपुर्जामा बढेर आएको ४ रोपनी ६ आना र कित्ता नं १४० फिल्ड बुक र नयाँ लालपुर्जा दुबैमा ०–९–२–१ एउटै क्षेत्रफल कायम भएको देखिएको छ । जम्मा २–३–०–२ को १४ लाख ८५ हजार मात्र मुआब्जा पाउनुपर्नेमा ११ रोपनी क्षेत्रफलको कुल ७५ लाख (कर कट्टा )पछि बुझेको बुढीगण्डकी आयोजनाले जनाएको छ ।

मालपोतको फिल्डबुक प्वाल पारेर नबुझिने बनाई लालपुर्जामा क्षेत्रफल बढाईएको भन्ने थाहा पाएको भए  मुआव्जा वापतको रकम आँफुलाई किन उपलव्ध गराईएको हो भनि पौडेलले बुढीगण्डकीे आयोजनाका प्रमुख कृष्णबहादुर कार्कीलाई प्रतिपश्न गरेका छन् ।

पौडेलले आँफु माथि झुठो आरोप लागेको र चरित्र हत्या गर्न समाचार लेखेको दावी गरिरहँदा २०७६ साउन ६ गते पौडेलका ३ जना आफन्तले जिल्ला प्रशासन कार्यालय र मालपोत कार्यालय धादिङमा निवेदन दर्ता छानविनका लागि आग्रह गरेपछि मात्रै यो बिषय बाहिर आएको हो ।

  • पौडेलले धादिङ न्यूजलाई दिएको खण्डन पत्र