बुढीखोला साना सिंचाईको उद्घाटन तथा सार्वजनिक सुनुवाई सम्पन्न

1317 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गंगाजमुना – धादिङको गंगाजमुना गाउँपालिका वडा नम्बर ७ सुकौरामा निर्माण गरिएको बुढीखोला साना सिंचाई योजना समुदायलाई हस्तान्तरण गरिएको छ । बुधवार सुकौराबेसी फाँटमा एक कार्यक्रमको आयोजना गरि सिचाई योजनाको उद्घाटन गरि समुदायलाई हस्तान्तरण एवम सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ ।

गंगाजमुना गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष बाबुराम न्यौपानेले सिंचाई योजनाको १२ घन मिटरको रिजर्भ ट्याङ्की उद्घाटन गरि समुदायलाई हस्तान्तरण गर्नु भएको हो । सिंचाई योजना हस्तान्तरण संगै सार्वजनिक सुनुवाई कार्यक्रम पनि सम्पन्न भएको छ । गत असार ७ गतेबाट निर्माण शुरु भई असार मसान्तमा सम्पन्न भएको सो योजना निर्माणका लागि कुल ६ लाख ७८ हजार ६ सय ३८ रुपैयाँ लागत लागेको र त्यस्मा वडा कार्यालयबाट १ लाख १६ हजार ४ सय ४५, समुदायबाट श्रमदान १ लाख ९६ हजार ५ सय ९५ र बाँकी रकम सहास नेपालले उपलव्ध गराएको कार्यक्रममा जानकारी गराईएको थियो । यो सिंचाई योजनाबाट सुकौराबेसीमा २२ जना किसानलाई हिउँदको समयमा तरकारी तथा अन्य आयमुलक खेती गर्न सहयोग पुग्नेछ । यहाँका किसानले सिंचाई सुविधा उपलव्ध भएपछि पाखोबारीमा केराखेतीको शुरुवात गरिसकेका छन ।

सहयोगी हातहरुको समूह (सहास नेपाल)ले केयर नेपालको सहयोग र गंगाजमुना गाउँपालिकाको वडा नम्बर ७ को कार्यालय संग समन्वय गरि लागत साझेदारीमा सञ्चालन गरेको बुढीखोला साना सिंचाई योजना उपभोक्ता समितिका अध्यक्ष विनोद थापाको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रमको प्रमुख अतिथि गंगाजमुना गाउँपालिकाको वडा नम्बर ७ का वडा अध्यक्ष बाबुराम न्यौपाने हुनुहुन्थ्यो ।


सिंचाई उपभोक्ता समितिका पदाधिकारी,सहयोगी संस्थाका प्रतिनिधि, स्थानीय उपभोक्ताहरुको उपस्थितीमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा केयर नेपालका खाद्य सुरक्षा तथा जिविकोपार्जन अधिकृत लेखनाथ अधिकारी, अनुगमन तथा मुल्याङ्क अधिकृत किरण न्यौपाने, सहास नेपालका परियोजना अधिकृत हरिराम लोहनी, प्राविधिक कुमार विक लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा उपभोक्ता समूहका सदस्य सुकमान श्रेष्ठले सिंचाई योजनाका वारेमा समूहको तर्फबाट जानकारी दिनु भएको थियो भने सहास नेपालका प्राविधिक कुमार विकले योजना संचालनमा भएको खर्चको फाँटवारी सार्वजनिक गर्नु भएको थियो ।

योजनाको हर हिसाव सार्वजनिक भएपछि योजनाको बिषयमा खुल्ला सार्वजनिक छलफल गरिएको थियो । सार्वजनिक सुनुवाईमा उपभोक्ता समूहका सवै सदस्यले समान श्रमदान नगरेको, सिंचाईको लागि धारो राख्दा सबैको लागि पायक पर्ने स्थान नभएको, धारोबाट खेत सम्म लैजाने पाईप नभएको, धारो टाढा भएको लगायतका बिषयमा सर्वसाधरणले आफ्नो गुनासो राखेका थिए ।

अधिकांश सहभागीको गुनासो श्रमदान र पाईपका बिषयमा केन्द्रित रहेको थियो । थोरै सहभागीले भने सिंचाई योजनाबाट गाउँमा ठूलो सहयोग मिलेको, व्यवसायिक तरकारी खेतीका लागि प्रोत्सहान भएको, सुख्खा जमिनलाई प्रयोग गरेर आयआर्जनका निम्ति प्रयोग गर्न सकिने पनि वताएका थिए ।

सहभागीहरुले राखेका गुनासा र जिज्ञासाहरुको केयर नेपालका खाद्य सुरक्षा तथा जिविकोपार्जन अधिकृत लेखनाथ अधिकारी, अनुगमन तथा मुल्याङ्क अधिकृत किरण न्यौपाने, सहास नेपालका परियोजना अधिकृत हरिराम लोहनी, वडा अध्यक्ष बाबुराम न्यौपानेले जवाफ दिंदै परियोजनालाई व्यवस्थित र टिकाउका लागि समुदायले अग्रसरता देखाउनु पर्ने, संरक्षण तथा मर्मत सम्भारका लागि कोष निर्माण गर्नु पर्ने, पालो लगाएर सिंचाईको व्यवस्था मिलाउनु पर्ने, आन्तरिक छलफलबाट योजनाको दिगोपनाका लागि योजना बनाउनु बिषयमा सरोकारवालालाई जवाफ दिनु भएको थियो ।