धादिङमा पनि राष्ट्रिय परिचय पत्र वितरण गरिने

2716 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- जिल्ला प्रशासन कार्यालय मार्फत धादिङ जिल्लामा पनि राष्ट्रिय परिचयपत्र वितरण गरिने भएको छ । परिचय पत्रका तयार पार्नका लागि छिट्टै विवरण संकलनका काम शुरु गरिने राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका सूचना प्रविधि निर्देशक सुवाष ढकालले जानकारी दिनु भएको छ ।


जिल्ला प्रशासन कार्यालय धादिङ र राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको संयुक्त आयोजनामा आईतबार धादिङबेसीमा राष्ट्रिय परिचय पत्र व्यवस्थापन सम्वन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रम गरि यस सम्वन्धी जानकारी दिईएको हो । धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेको अध्यक्षता र जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालको प्रमुख आतिथ्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, स्थानीय तहका प्रमुख, उपप्रमुख एवम वडाअध्यक्षहरु, गैर सरकारी संस्थाका प्रतिनिधिहहरु, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय परिचयपत्रका बिषयमा विभागका सूचना प्रविधि अधिकृत ढकालले जानकारी गराउनु भएको थियो । राष्ट्रिय परिचयपत्रले ब्यक्तिका सबै विवरण बुझाउने हुदा सबैले पत्र बनाउनु पर्ने वताउनु भयो । जिल्लाका सबै गाउँपालिका ,नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा विवरण सङ्कलन गरेर वितरणको काम गरिने पनि ढकालले जानकारी दिनुभयो । लगत सङ्कलन गरेर ल्याएपछि ती विवरणको आधारमा परिचय पत्रमा बाँडिने छ । नागरिकता पाएकै दिन परिचयपत्रको लागि आवश्यक विवरणभरी राष्ट्रिय परिचयपत्र विवरण भर्ने तथा स्थानीय तहमा शिविर मार्फत बिबरण संकलनको ब्यवस्था मिलाइने भएको छ । परिचय पत्रमा रहेका तथ्याङ्कहरु अधिकार प्राप्त सरकारी अधिकारीले बिशेष अवस्थामा वाहेक अरु वेलामा हेर्न नमिल्ने बिशेष व्यवस्था रहेकाले यो कार्डको प्रयोगले व्यक्तिका निजी बिबरणहरु जो कसैले जुनसुकै बेला हेर्न नमिल्ने पनि ढकालले वताउनु भयो ।


दश डिजिटल नम्बर रहने परिचय पत्रमा नागरिकताको सबै विवरण साथै नागरिकतामा नभएको हजुरबुबाको नाम, आमाको नाम, पति र पत्नीको नाम, हातका सबै औँठा छाप, दुवै आँखाको तस्बिर, शैक्षिक योग्यता, पेशा, अस्थायी र स्थायी ठेगाना समेत उल्लेख गर्नुपर्ने छ । यसरी भरेर पठाएको विवरण राष्ट्रिय परिचयपत्र ब्यवस्थापन तथा पञ्जिकरण विभागवाट राष्ट्रिय परिचयपत्र तयार पारेर जिल्लामा पठाएपछि सम्बन्धित ब्यक्तिले आफ्नो परिचय पाउनेछन । औठा छाप सहितको विवरण भएको परिचयपत्र स्मार्ट कार्डजस्तो हुने वताईएको छ ।

जिल्लामा रहेका अन्य जिल्लाका नेपाली नागरिकले पनि आँफु रहेकै स्थानबाट राष्ट्रिय परिचय पत्र लिन सक्ने छन । यो सुविधाले जिल्लामा कार्यरत सरकारी कर्मचारी, सुरक्षाकर्मी, संघ संस्था, निजी क्षेत्रमा कार्यरत व्यक्तिहरुलाई सजिलो हुने छ ।