पेटमा व्लेडले प्वाल पारेर झाँक्रीबाट विरामीको उपचार

2651 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

– केशव अधिकारी

धादिङ, २५ भदौ –  दुर दराजका बस्तीमा मात्रै होइन जिल्ला सदरमुकाममै विरामीको उपचार अझै पनि  झाँक्रीले गर्छन भन्ने सुन्दा आश्चर्य लाग्न पनि सक्छ । झट्ट सुन्दा अचम्म लागेपनि धादिङ जिल्लाको सदरमुकाम धादिङबेसीमै यस्तै अन्धविश्वासको पछि लाग्दा एक परिवार झनै संकटमा परेका छन् ।

जण्डिसले थलिएका विरामीको तान्त्रिक विधिबाट उपचार गराएर निको पारिदिने भन्दै धादिङका एक झाँक्रीले व्लेडले पेट चिरिदिंदा विरामी मरणासन्न अवस्थामा पुगेका छन ।

धादिङको जिल्ला सदरमुकाम धादिङबेसी शान्तवजार बस्ने गजवहादुर लामाले नीलकण्ठ नगरपालिका वडा नम्बर ९ झगरेका राजु मगरको जण्डिसको उपचार गराईदिने भन्दै भदौ १५ गते लामाले व्लेडले पेट चिरिदिएका हुन । जण्डिसको उपचार गरेर शरिर भित्रको विकार फाल्न भन्दै झाँक्रीले विरामी पेटमा प्वाल पारिदिएका हुन ।

मगर दुई महिना अघि देखि जण्डिसले थलिएको आफन्तहरुले वताएका छन् । लामा झाँक्रीको उपचारले चाँडै जण्डिस रोग निको हुने विश्वामसा पर्दा मगर यतिबेला जीवनमरणको दोसाँधमा पुगेका हुन् । जिल्ला अस्पतालको आकस्मिक कक्षमा उपचार गराईरहेका मगर जडिस र पेटमा लागेको घाउको चोटले अहिले बोल्न समेत नसक्ने अवस्थामा पुगिसकेका छन ।

आंफुले उपचार गरेपछि जण्डिसका विरामी निको हुने भनेपछि झांक्री विश्वासमा गर्दा मगरको पेट चिरिएको विरामीका आफन्तहरु बताउँछन । श्रीमानलाई लिएर झाँक्रीको घरमा गएकोमा आंफुलाई कोठा बाहिरै राखेर भित्र कोठामा व्लेडले पेटमा चिरेर श्रीमानलाई झनै विरामी वनाईदिएको राजुकी श्रीमती विमलाले वताईन् । उपचार गरेवापत भन्दै ८ हजार ३ सय ८० रुपैयाँ औषधि उपचार शुल्क भनेर आंफुँसग् रकम समेत लिएको विमला बताउँछिन ।

तान्त्रिक विधिबाट उपचार गर्दै शरिरमा भएको विकार निकालिदिन्छु भन्दै बन्द कोठामा थुनेर सुरुमा झाँक्रीले सुइ लगाएको जस्तो गरि केही सामानले घोचेको र पछि ब्लेटले पेट चिरेर त्यही घाउमा मुखले टोकिदिएको कुरा श्रीमानले आफुलाइ बताएको विमला बताउँछिन ।

झाँक्रीले पेटमा प्वाल पारिदिएपछि विरामीको अवस्था झनै विग्रिन थालेपछि उनलाइ उपचारको लागि काठमाण्डौको नयाँ वजारमा रहेको पिपुल मेडिकल कलेज लगेकोमा अस्पतालले अरुले बनाइदिएको घाउ आफुले नहर्ने भन्दै पेटमा जमेको पानी निकालिदिएर विरामीलाई शिक्षण अस्पताल लैजान भनेकोमा आफन्तहरुले जिल्ला अस्पताल ल्याएर उपचारका लागि भर्ना गरेको वताएका छन् । तान्त्रिक विधिद्धारा उपचार गराउने भन्दै लामाले पटक पटक विवादित कार्य गदै आइरहेका छन् । यसअघि पनि उनले बोक्सी झार्न भन्दै विरामीको गालामा तातो पन्युँले डाम्ने, गर्भपतन गराउने जस्ता घटनामा उनि विवादमा आएका  थिए ।

विरामीको अवस्था जटिल वन्दै गएपछि राजुका आफन्तहरुले कानूनी उपचारको बाटो खोजी गरेका छन । लामालाई पक्राउ गरि कारवाही गर्न उनिहरुले प्रहरी समक्ष लिखित अनुरोध गरेका छन् । धादिङका प्रहरी उपरिक्षक राजकुमार वैदवारले यस घटनाको अनुसन्धान गरि दोषि माथि कारवाही हुने वताएका छन् । आंफुँलाई तान्त्रिक लामा गुरु बताउने गजबहादुर सदरमुकाम शान्त वजारका स्थायी वासिन्दा हुन ।

निर्मलीकरण नगरिएका औजारको प्रयोग गरेर शरिरमा घाउ चोट लगाउँदा घाउमा थप संक्रमण फैलन सक्ने भएकाले विरामीको सुरक्षित उपचारका लागि काठमाण्डौं लैजान जिल्ला अस्पतालका चिकित्सकहरुले सल्लाह दिएका छन् ।