धादिङमा पनि भेटियो डेंगु, अहिले सम्म २१ जना संक्रमित

2390 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- डेङ्गु रोगबाट धादिङमा अहिले सम्म २१ जना विरामी भएका छन । स्वास्थ्य कार्यालय धादिङका अनुसार ज्वरो आएर धादिङ जिल्ला अस्पतालमा उपचारका लागि आएका मध्ये ९ जना महिला र १२ जना पुरुषमा डेंगुको संक्रमण देखा परेको हो । जिल्लाको सदरमुकाम आसपास भन्दा अन्य स्थानका विरामीको भने जिल्लामा अभिलेख नभएको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत बिष्णु रिजाल बताउनुहुन्छ । पृथ्वी राजमार्ग आसपासका विरामी काठमाण्डौं, चितवन लगायतका शहरमा गएर उपचार गराउने भएकाले जिल्लाभर अहिले सम्म यति नै संक्रमित भएका छन भनेर भन्न नसकिने अवस्था रहेको छ ।

एडिस प्रजातीको पोथी लामखुट्टेले विशेषगरी दिउँसोको समयमा टोक्दा डेंगुं संक्रमण हुने सम्भावना रहेको स्वाथ्यकर्मीहरु बताउँछन ।  जमाएर राखिएको या भाँडाकुँडामा भरेर राखेको सफा पानीमा बस्न रुचाउने लामखुट्टेको कारण डेंगुको संक्रमण फैलने सम्भावना धेरै रहेकाले घर कार्यालय तथा अन्य स्थानमा जम्मा भइराखेको पानी, टायर, बोत्तल र ठुला खाले बिर्कोहरु खोजी गरी त्यसका फुलहरु नष्ट गर्न, शरीर ढाक्ने लुगाहरु लगाउन, सुत्दा झुलको प्रयोग गर्न, शरीरको खुल्ला भागहरुमा मलम प्रयोग गर्नका लागि चिकित्सकहरुले सल्लाह दिएका छन ।

डेंगुको संक्रमणबाट सवै उमेर समूहका व्यक्तिहरु प्रभावित हुने भएपनि बालवालिका, बृद्ध बृद्धा, गर्भवती, सुत्केरी र अशक्त असहायको सुरक्षामा बढी ध्यान दिन स्वास्थ्यकर्मीहरुको सुझाव छ ।

धादिङमा डेंगुसँगै स्क्रबटाइफस रोगको पनि संक्रमण देखिएको जिल्ला अस्पताल धादिङले जनाएको छ । अहिले सम्म १५ जना पुरूष र २१ जना महिला गरि ३६ जनामा स्क्रबटाइफस देखिएको जिल्ला अस्पतालले जानकारी दिएको छ । स्क्रब टाइफस जंगली मुसामा रहेको किर्ना जातको भारइसको टोकाइबाट मानिस सर्ने गर्दछ ।

धादिङ जिल्लामा पनि डेंगुंको संक्रमण फैलन थालेपनि स्वास्थ्य कार्यालय धादिङका साथै जिल्लाका १३ वटै स्थानीय तहले स्वास्थ्य शाखा मार्फत गाउँ गाउँमा रहेका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरु परिचालन गरि जनचेतना अभियान संचालन गरिरहेका छन । स्वास्थ्यकर्मी संगै पालिकाका अध्यक्ष उपाध्यक्ष, वडाअध्यक्ष,वडा सदस्यहरु, पालिकाका सदस्यहरु, कर्मचारी समेत अभियानमा खटिरहेका छन । अभियान मार्फत समुदायलाई डेगुंको वारेमा जानकारी दिनुको साथै, यस्को लक्षण, सर्ने अवस्था, रोकथामका उपायका बिषयमा जानकारी दिने काम भईरहेको नेत्रावती डवजङ गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कृष्ण पौडेलले वताउनु भयो ।

बर्षात सकिए सँगै पछिल्लो समय डेङ्गुको संक्रमण देशभर बढेको छ । अस्पतालका शैया बिरामीले भरिएको छ तर आएका बिरामी कतिमा डेङ्गु छ या छैन यो परिक्षण गर्ने किट जिल्ला अस्पतालमा छैन । रगतमा सि वि सि को मात्रालाइ हेरेर अनुमानको आधारमा जिल्ला अस्पतालमा आएका बिरामीको उपचार भइरहेको छ ।