धादिङका ग्रामीण सडकमा दिनहुँ दुर्घटना

1493 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,१२ असोज – धादिङमा आईतबार विहान भएको बस दुर्घटनाका घाईतेहरु मध्ये गम्भिर चार जनालाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौं लगिएको छ । शनिवार विहान नीलकण्ठ नगरपालिकाको पौवाखाल्टामा भएको दुर्घटनामा ९ जना घाईते भएका थिए ।

नेत्रावती डवजोङ गाउँपालिका सेमजोङबाट धादिङबेसीका लागि छुटेको बस आईतबार विहान दुर्घटना हुंदा बसमा सवार पाँच जना घाईते भएका थिए । दुर्घटनामा परि घाईते भएकाहरु मध्ये धादिङको नेत्रावती डबजोङ ५ का ५८ बर्षिय दल बहादुर तामाङ र सोही ठाउँ बस्ने ६९ बर्षिया हस्त कुमारी तामाङ ४५ बर्षका चन्द्रे भनिने राजु परियार र ६० बर्षकी शान्तमाया गुरुङलाई जिल्ला अस्पताल धादिङमा प्रारम्भिक उपचार गरि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाण्डौंको ग्राण्डी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।


सेमजोङबाट सदरमुकाम धादिङबेसी आउदै गरेको धादिङ यातायात को बा ४ ख ५७९३ नम्बरको बस आईतबार विहान ८.३० वजे तिर नीलकण्ठ नगरपालिका वडा नम्बर १३ केराम्जामा दुर्घटना भएको हो ।

बस एक्कासी अनियन्त्रित भई सडक बाट अन्दाजि एक सय मिटर तल बल्ड्याङ खाँदै खसेको स्थानीयले वताएका छन । दुर्घटनामा परि घाईते भएकी नेत्रावती डबजोङ ५ बस्ने २० बर्षिया लक्ष्मी गुरुङको अवस्था सामान्य रहेकाले जिल्ला अस्पतालमा उपचार भईरहेको छ । दुर्घटना पछि फरार रहेका बस चालक काठमाण्डौं जिल्ला रामकोट घर भएका २६ बर्षिय सरोज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

शनिवार पनि धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ पौवाखाल्टामा मजदुरहरु चढेको ट्याक्टर दुर्घटना हुंदा जाजरकोट जिल्लाबाट सडक मर्मत सम्वन्धि काममा धादिङ आएका मजदुरहरु घाईते भएका थिए । दुर्घटनामा पर्ने घाइतेहरु सबै धादिङबेसी टारीबेसी सडक कालोपत्रे गर्ने जिम्मा लिएको नवकान्तिपुर कन्ट्रक्सनमा कार्यरत मजदुरहरु हुन ।

निर्माण कम्पनीको सम्पर्क कार्यालय रहेको निगालपानीबाट शनिबार बिहान ना ६च २७८० नम्बरको निर्माण कम्पनीकै ट्याक्टरमा १४ जना चढेका थिए । दुर्घटनामा घाइते भएका ९ जना मध्य सख्त घाइते भएका कृष्णबहादुर रावत र जयबहादुर चनारालाई उपचारका लागि शनिवारनै भरतपुर पठाइएको थियो ।

अन्य घाइतेहरु तेजबहादुर रावत, पूर्णवहादुर डाँगी, दिर्घबहादुर रावत, कर्णबहादुर शाही, कर्णबहादुर चनारा, चन्द्रबहादुर रावत, विर्खबहादुर रावत रहेका छन् । उनीहरुको जिल्ला अस्पताल धादिङबेंसीमा उपचार भइरहेको छ ।