नौविसे सडकबोर्डको ढाँटमा कुकर बम, सेनाद्धारा निष्क्रिय

1878 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ३ कात्तिक – धादिङको धुनिबेसी नगरपालिकामा पर्ने पृथ्वीराजमार्गको चालिसे स्थित सडक बोर्डको ढाँटमा आईतबार विहान शंकास्पद बस्तु भेटिएको छ ।

सडक बोर्डले राजमार्गमा सडक कर उठाउने ढाँट छेउ नजिकै जेब्रा झोलाभित्र शंकास्पद वस्तु देखिएपछि बम भएको आशंकामा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । नेपाली सेना, शशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले घटनास्थल नियन्त्रणमा लिई बम निष्क्रिय पारेको हो ।

नेपाली सेनाको टोलीले शंकास्पद झोला नियन्त्रणमा लिई खोजतलास गर्दा झोला भित्र तार जोडेको अबस्थामा प्रेसर कुकर देखिएपछि त्यस्मा विष्फोटक पदार्थ हुनसक्ने आशंकामा निष्क्रिय गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक रुपक खड्काका अनुसार नेपाली सेनाको बम डिस्पोजल टोलीले बिहान १० वजे घटनास्थल नियन्त्रणमा लिई शंकास्पद बस्तु निष्क्रिय पारेको हो ।

जनजिवन आतंकित बनाउन बिष्फोटक पर्दाथ राखेर सडक छेउमा कुकर बम राखिएको हुन सक्ने भएकाले सो कार्यमा संलग्न भएकाको पहिचानका लागि प्रहरीले अनुसन्धान शुरु गरेको पनि खड्काले जानकारी दिन्भयो ।