नागढुङ्गा–मुग्लिन सडक ६ लेनको बनाईदै

1624 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । देशका ६७ जिल्लाबाट राजधानी प्रवेश गर्ने र राजधानीबाट वाहिरिने यात्रुले प्रयोग गर्ने नागढुंगा–मुग्लिन सडक खण्डको अव विस्तार गरिने भएको छ । अहिले दुई लेनमा रहेको सडकलाई अब ६ लेनसम्म विस्तार गरिने भएको हो ।

सडक विभागका अनुसार सो सडकखण्ड विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र ‘ड्रोइङ डिजाइन’ तयार भइसकेको छ भने वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए) स्वीकृतिको अन्तिम चरणमा छ ।

वातावरणीय प्रभाव मूल्याङ्कन स्वीकृति भइनसक्दा थप प्रक्रिया अगाडि बढाउन ढिलाइ भएको सडक विभागले जनाएको छ ।

सडक विभाग, विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजङ्ग थापाले विश्व बैङ्कको सहयोगमा निर्माण गरिने यो सडकखण्डको विस्तार कार्य आगामी जनवरीबाट सुरु गरिने जानकारी दिए ।

यो सडक विस्तारका लागि निर्माण र विश्व बैङ्कसँग ऋण सम्झौता एकैसाथ गरिने गरी प्रक्रिया अगाडि बढाइएको र अगामी वर्षको जुनसम्ममा निर्माण सम्झौता गरिने बताउँदै उनले भने, ‘जुनमा यी दुवै सम्झौता गरिए पनि त्यसअघि वातावरणीय प्रभाव मूल्याङ्कन प्रक्रिया, ठेक्कापट्टाको बोलपत्र लगायतका काम पूरा गरिनेछ ।’ गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले  समाचार लेख्नु भएको छ ।