धादिङमा १०४ जनामा स्क्रब टाइफसको संक्रमण

1662 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-प्रदेश नम्बर ३ का १३ जिल्ला मध्ये धादिङ जिल्लामा स्क्रब टाइफसबाट संक्रमण हुनेको संख्या सबै भन्दा धेरै देखिएको छ । कीटजन्य रोग व्यवस्थापन गर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दिएको जानकारी अनुसार साउन १ गते देखि कात्तिक १७ गते सम्ममा देशका ६३ जिल्लामा १ हजार २ सय ७१ जनामा स्क्रब टाइफस देखिएको छ भने प्रदेश ३ मा ३ सय ७८ जनामा संक्रमण देखिएकोमा धादिङ जिल्लाका मात्रै १०४ जना रहेका छन् ।

महाशाखाका अनुसार प्रदेश नम्बर ३ को १३ जिल्ला मध्ये सबै भन्दा धेरै धादिङ जिल्लामा स्क्रब टाइफसको संक्रमण देखिएको छ भने रसुवा र रामेछापमा संक्रमणको संख्या शुन्य रहेको छ । प्रदेश नम्बर ३ को धादिङमा १०४,काठमाण्डौंमा ८३, चितवनमा ६७,ललितपुरमा ३१,काभ्रेपलाञ्चोकमा २७,मकवानपुरमा २५, नुवाकोटमा १६,सिन्धुली ८ ,सिन्धुपाल्चोक र भक्तपुरमा ७/७ र दोलखामा ३ जनामा स्क्रब टाईपसको संक्रमण देखिएको छ ।

देशभरीमा सबैभन्दा बढी प्रदेश ५ मा ४ सय ६७ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा १६ जना रहेका छन् ।

स्क्रब टाइफस संक्रमण हुनेमा सुदूरपश्चिम प्रदेशमा २ सय ५५, गण्डकी प्रदेशमा ७६, प्रदेश १ मा ५७ र प्रदेश २ मा २२ जना छन् ।

चिकित्सकहरका अनुसार स्क्रब टाइफस माइट नामक जीवाणुबाट संक्रमण हुन्छ । माइट जीवाणु खेतबारी, वनजंगल, चउर र घरवरिवरि झाडी भएका ठाउँमा पाइन्छ । यसबाट जोगिन खेतबारीमा काम गर्दा वा झाडी र जंगलमा जाँदा शरीर ढाक्ने कपडा लगाउनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ शेरबहादुर पुनको सुझाब छ । पुनका अनुसार चौर वा बारीमा बस्दा गुन्द्री ओछ्याएर बस्ने, सकेसम्म भुइँमा नबस्ने, मुसा नियन्त्रणका लागि उपयुक्त अन्न भण्डारण गर्ने गर्नुपर्छ ।

सो रोग उत्पन्न गर्ने ब्याक्टेरिया सङ्क्रमित मुसाको पेटभित्रका प्वालहरूमा बस्छ । मुसाको टोकाइबाट बच्नु नै यो रोगबाट बच्ने मुख्य उपाय हो । खेतबारीमा काम गर्न जाँदा पूरा बाहुला भएको कपडा लगाउनुपर्छ । खुला चौरमा सुत्नु हुँदैन । रोगको पहिचान बिरामीमा देखिएको लक्षण, सुक्ष्म कीराले टोकेको चिनोबाट हुने गर्दछ । विसं २०७२ वैशाखमा विनाशकारी भूकम्पपछि बढी मात्रमा मुसा देखिन थालेका र मुसाको टोकाइबाट रोगको संक्रमण बढेको महाशाखाले जनाएको छ ।

अचानक उच्च ज्वरो आउने, टाउको दुख्ने, शरीरमा बिमिरा देखिने, आँखा रातो हुने, खोकी लाग्ने, ग्रन्थी सुन्निने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिनेबित्तिकै उपचार गर्नुपर्ने चिकित्सकहरु बताउँछन् ।

समयमै उपचार नगरे मिर्गौला, फोक्सो, मुटुमा असर हुँदै श्वासप्रश्वासमा समस्या भई बिरामीको मृत्यु समेत हुन सक्ने चिकित्सकहरुको भनाई छ ।

अघिल्ला तीन वर्षमा सोही रोगका कारण देशभरमा१६ जनाले अकालमा ज्यान गुमाएका थिए । जेठ महीनाको अन्तिमदेखि कात्तिक महीनाभर रोगको उच्च जोखिम मानिन्छ । सन् २०१६ मा ४८ र सन् २०१८ मा ५६ जिल्लामा यो रोग देखापरेको थियो ।

महाशाखाका अनुसार सन् २०१७ मा ६७० संक्रमित भई नौ, सन् २०१८ मा एक हजार ९८ मा संक्रमित भई चार जनाको मृत्यु भएको थियो ।