बाघको छाला सहित गजुरीबाट ६ जना पक्राउ

1326 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ ८ मंसिर – धादिङको गजुरी गाउँपालिका वडा नं २ चालिसेबाट शनिबार पाटे बाघको छालासहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङ र इलाका प्रहरी कार्यालय गजुरी धादिङको संयुक्त टोलीले उनिहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई सार्वजनिक गर्न आइतबार जिल्ला प्रहरी कार्यालय पत्रकार सम्मेलन गरेको थियो ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका वडा नं ३ बस्ने ३७ वर्षीय भाईराम प्रजा, ३४ वर्षीय राजेन्द्र तामाङ, २१ वर्षीय ज्ञानबहादुर विक, २५ वर्षीय आशिष तामाङ, बेनिघाट रोराङ गाउँपालिका वडा नं २ बस्ने ५७ वर्षीय सन्त तामाङ, बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ बस्ने २१ वर्षीय राजकुमार तामाङ रहेको प्रहरीले जानकारी दिएको छ । गजुरीको वालसिंह भन्ने ठाउँबाट मोटरसाइकलमा बाघको छाला बोकी राजमार्गतर्फ ल्याउंदै गरेको अवस्था उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताउनुभयो ।

प्रहरीले बाघको छालासहित उनीहरु सवार बा १८ प ९६९३, ग ७ प ५९६३ र ग ६ प १६४५ नम्बरको मोटरसाइकल र उनिहरुको साथमा रहेको मोबाइल पनि प्रहरीले बरामद गरिएको जनाएको छ ।

पक्राउ गरिएको बाघको छाला राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय धादिङ पठाइने जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।