धादिङको वेनिघाट रोराङमा प्रदेश सरकारको बाख्रापालन विशेष कार्यक्रम
701 पटक पढिएको
धादिङ- प्रदेश नं ३ सरकारले उन्नत जातका बाख्रापालन प्रवद्र्धन गर्न विशेष कार्यक्रम ल्याउने भएको छ । कृषक समूह, सहकारी र निजी क्षेत्रसँगको साझेदारीमा व्यावसायिक बाख्रापालन प्रवद्र्धन गर्न कार्यक्रम ल्याउन लागिएको प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।
‘उन्नत जातका बाख्राको अध्ययन, अनुसन्धान गरी उत्पादन बढाएर किसानलाई राम्रो आम्दानी दिन विशेष कार्यक्रम सुरुआत गर्न लागिएको हो,’ प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले भने ।
उनका अनुसार मकवानपुर, चितवन, धादिङ, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा केही पालिकामा उक्त कार्यक्रम सञ्चालनमा आउनेछ । मकवानपुरको इन्द्रसरोवर र भीमफेदी गाउँपालिका, चितवनको राप्ती नगरपालिका, रामेछापको खाँडादेवी गाउँपालिका, सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिकामा कार्यक्रम कार्यान्वन हुनेछ ।
मन्त्री लामाले बाख्रापालन फार्मलाई ५० लाख रुपैयाँसम्म अनुदान रकम दिइने र यसका लागि सूचनासमेत प्रकाशित भइसकेको बताए । ‘यो कार्यक्रमको मुख्य लक्ष्य भनेको उन्नत जातका बाख्रा भित्र्याउनु नै हो,’ उनले भने । ९रासस०