शिव थापा र भिषण सिम्खडाको हत्यामा संलग्न दुर्गे पक्राउ

2836 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङको उत्तरी भेगको गाउँबस्तीमा श्रृङखलाबद्ध रुपमा हत्या, डकैती तथा लुटपाट मच्चाई सर्वसाधारणलाई आतंक मच्चाउँदै आएका धादिङ खनियाबासका साँइला भन्ने दुर्गाबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

धादिङ खनियाबास–२ स्थायी ठेगाना भएका २७ वर्षीय तामाङलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले शुक्रबार पोखरा महानगरपालिका वडा नं २५ खुट्टेगौंडाबाट पक्राउ गरेको हो । प्रहरीको खोजी सूचीमा रहेको कारण आफ्नो सही पहिचान समेत बदली उनी छदम परिचय बनाई कास्कीको चुम्राङ्ग भन्ने ठाउँमा लुकेर बस्दै आएको जानकारी पाएपछि अनुसन्धान व्युरोले खोजी गर्दै उनलाई पक्राउ गर्न सफल भएको हो ।

०६७ कार्तिक १० गते धादिङको दार्खा–१ पातले भिर भन्ने ठाउँमा तत्कालिन नेकपा एमालेका जिल्ला सदस्य शिव थापाको धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो । थापाको हत्या मुद्दामा पक्राउ परेका अन्य अभियुक्त अहिले जेलमै छन् । प्रहरीका अनुसार शिव थापाको हत्यामा संलग्न रहेको आरोपमा दुर्गेलाई जिल्ला अदालत धादिङले ५ वर्ष कैद तोकेको छ ।यस्तै भिषण सिम्खडा हत्या आरोपमा पनि अदालतले ५ वर्ष नै कैद सुनाएको छ ।

दार्खा गाविस वडा नं. ७ का २७.बर्षीय भिषण सिम्खडाको २०६९ मंसिर १८ गते दार्खा गाविस बडा नं १ रातमाटेमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । सिंखडाको हत्यामा संलग्न भएको आरोपमा कर्तब्य ज्यान मुद्धा लागे पछि फरार भएका बिर बहादुर भन्ने २८ बर्षीय कैलाश तामाङ र  दार्खा गाविसको वडा नं ६ का १९ बर्षीय गंगालाल तामाङलाई समेत धारिलो हतियार प्रहार गरि हत्या गरिएको थियो ।सिंखडाको हत्यामा संलग्न भएका राम बहादुर भन्ने १९ बर्षीय अदित तामाङलाई माघ १८ गते धादिङको रि गाविसको तावलबाट जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको थियो । भिणषको हत्यामा संलग्न भएको आरोप लागेका दार्खाका श्याम तामाङ भने प्रहरीबाट बच्न जंगल तर्फ भाग्दै गर्दा भिरबाट खसेर उनको ज्यान गएको थियो ।

यसै गरी धादिङकै खनियावास गाउँपालिका वडा नम्बर १ पर्चे भन्ने स्थानमा २०७६ जेठ ८ गते दुर्गे साइलाले लुटपाट गरेको प्रहरीले जनाएको छ । कैलाश दिक्षितलाई करिब २ बजेको समयमा साइला भन्ने दुर्गा बहादुर तामाङ्ग, पूर्ण तामाङ्ग, मनोज तामाङ्ग र बबिन तामाङ्ग समेतले बाटो छेकी घेरा हाल्दै धारिलो हतियार देखाउँदै ६ लाख १० हजार रुपैयाँ लुटेका थिए । पोखराबाट पक्राउ परेका तामाङलाई सीआईबीले आवश्यक कानूनी कारवाहीको लागि शनिबार जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएको छ ।