गोरखा देखि काठमाण्डौं सम्म नेपाली सेनाको एकीकरण पदयात्रा

2070 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पृथ्वीनारायण शाहले राज्य एकिकरणका क्रममा प्रयोग गरेको पदमार्गको पहिचानका लागि नेपाली सेनाले गोरखाबाट काठमाण्डौं सम्म ‘एकीकरण टर्च’ पदयात्रा गरेको छ ।

‘युनिफिकेसन ट्रेल’ का रुपमा सो मार्गलाई विकास गर्ने भन्दै सेनाले पदयात्रा गरेको हो । पुस १८ गते शुक्रबार बिहान साढे ८ बजे गोरखा दरबारको हनुमान चौतारीबाट नेपाली सेनाको टोली पदयात्रामा निस्किएको थियो । टोलीलाई एक विशेष कार्यक्रमका साथ पश्चिम पृतनाका पृतनापति गोकुल भण्डारी, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने लगायत स्थानिय जनप्रतिनिधिहरुले टर्च र झण्डा हस्तान्तरण गर्दै बिदाई गरेका थिए ।

गोरखाबाट टर्च र नेपालको झण्डा बोकेर पृथ्वीनारायण शाहको पालामा स्थापना भएका नेपाली सेनाका ५ कम्पनीहरु श्रीनाथ गण , कालीबक्स गण, पुरानो गोरख गण, वर्दवाणी र सबुद गण को झण्डा सहित करिब ४० जनाको सैनिक टोली पदयात्रामा निस्किएको हो । उक्त टोलीमा हाल गोरखा दरबारमा राखिएको गुरुजी पल्टनका १० जना सैनिकहरु परम्परागत पोशाकमा रहेका थिए । पदयात्रामा सहभागी सैनिकहरु गोरखा दरवारको हनुमान चौतारीबाट पिपलथोक, ताप्ले, अश्राङ, घाटबेंसी हुँदै बोर्लाङ्गघाट आई धादिङ जिल्ला प्रवेश गरेका थिए ।

गोरखा जिल्लाको भ्रमण सकिएपछि पदयात्रा टोलीले धादिङको देविदत्त गणलाई ‘एकीकरण टर्च’ हस्तान्तण गरेको थियो । शनिबार बिहान ८ बजे धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको सल्यानटारबाट देवीदत्त गणका गणपति सुदिप बानिया जिल्ला समन्वय समिति धादिङका प्रमुख जगनाथ नेपाल, त्रिपुरासुन्दरी गाउँपालिकाका प्रमुख शम्भु थापा लगायतका जन प्रतिनिधि एवम भुपु सैनिकहरुले पदयात्राका सहभागी देवीदत्त गणका सेनानी रुपेश चापागाई लाई टर्च र झन्डा हस्तान्तण गरेक थिए ।

गोरखाबाट आएको टोली र धादिङको देविदत्त गणको टोलीले शनिवार विहान सल्यानटारको कोषढुङगा बाट सुरु गरेको पदयात्रा रानिपौवा, कालोढुङगा , खहरे ,चरङगे पौवा , चरङ्गे , कटुन्जे , पन्ध्रकोषे , थर्पु हुँदै भ¥याङभुरुङ सम्मको करिब ३५ किलोमिटर दुरी पार गरी नुवाकोट प्रवेश गरेको थियो ।

धादिङको टोलीले शनिवार सांझ पदयात्राको टर्च र नेपालको झण्डा नुवाकोटको जवरजङ्ग गणलाई हस्तान्तरण गरेको थियो । नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाह हिँडेको बाटो हुंदै यात्रा गरेको नेपाली सेनाको ‘एकीकरण टर्चर्’ पदयात्रा आईतबार नुवाकोटको विदुर नगरपालिका –१० शुभघाट पुगेको थियो । शुक्रबार गोरखाबाट हिँडेको टोली काठमाडौँसम्म पैदलै जानेछ ।

गोरखाबाट हिडेको दुई दिनपछि नुवाकोटको शुभघाट पुगेको ‘एकीकरण टर्चर्’ पदयात्रा सोमबार गेर्खुबाट केउरिनी चौतारो हुँदै नुवाकोटस्थित पृथ्वीनारायण शाहले नै निर्माण गर्न लगाएको साततले दरबार परिसरमा विशेष कार्यक्रम सम्पन्न गरि धरमपानी, शेरास्थित रानीको दरबार, बरबन्दी, चतुराले, ककनी हुदैँ काठमाडौँ तर्फको यात्रामा निस्किएको छ । पदयात्रा सिंहदरबार परिसरमा रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पुगि त्यहाँ विशेष कार्यक्रम गरेर पदयात्राको समापन गरिने नेपाली सेनाले जनाएको छ ।

पृथ्वीनारायण शाहकालिन पोशाक सहित टर्च र राष्ट्रिय झण्डा बोकेर नेपाली सेनाको टोली गोरखाबाट काठमाण्डौका लागि पैदल निस्किएको हो । पदयात्रा टोलीलाई गोरखा, धादिङ र नुवाकोट विभिन्न स्थानमा भुपु सैनिक तथा स्थानियहरुले फुल माला र बाटोमा घडा राखी स्वागत समेत गरेका थिए ।