गल्छी गाउँपालिकाले चिन्न नसकेको प्रतिभा इश्वरी अधिकारी

1416 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ -गत वर्ष काठमाडौं स्थित् नोबेल एकेडीमीबाट व्यवस्थान संकायतर्फ प्लस टुमा नेपाल टप गर्दै गर्दा इश्वरी अधिकारीलाई सारा नेपालीले चिने ।

नचिनोस्, पनि कसरी, अधिकारीले राष्ट्रिय परीक्षा बोर्डको कक्षा १२ मा ३।९२ जि।पि।ए। ल्याएकी थिइन् । त्यति मात्रै होइन, अधिकारीले कक्षा ११ मा पनि ए प्लस नै ल्याएकी थिइन् । इश्वरीको स्थायी घर गल्छी गाउँपालिका वडा न। ५ स्थित् सिर्वानी हो । यहाँस्थित् कार्कीडाँडा मा।वि।बाट एसइइपरीक्षामा पनि उत्कृष्ट नतिजा ल्याएर उतिर्ण भएकी थिइन् ,जसमा उनले ३.४६ अर्थात् ८६५ ल्याएकी हुन् ।

तर, दुखको कुरा उनै इश्वरी आज पद्मकन्या क्याम्पसमा बि.बि.ए. पहिलो बर्षमा अध्ययन गरिरहेकी छिन् । निजि स्कुलबाट नेपाल टप गरेकी उनलाई फेरि नीजि क्याम्पसमै गएर पढ्ने मन नभएको होइन । उसो त, उनलाई पद्माकन्या पनि नराम्रो लागेको भने होइन । तर, आफूले रोजेको क्याम्पस भने यो होइन ।

आर्थिक अवस्थाको कारण बहिनीले सरकारी कलेज भर्ना गरिएको इश्वरीकी दिदि सबिना अधिकारी बताउँछिन् । ‘घरबाट पैसा पठाउन सक्ने अवस्था छैन, म आफैँ काम गर्छु, कोठा भाडा तिर्नुपर्छ, बहिनीको पढाइलाई असर हुन्छ भनी उसलाई केही काम गर्नुपर्दैन भनेको छु, सरकारीमा पढाएको छु ।’ उनले भनिन् ।

इश्वरीलाई अरुले नबुझेकोमा वा सहयोग नगरेकोमा कुनै पछुतो छैन, तर आफ्नै गाउँपालिका गल्छी नचिनेकोमा भने दुख लागेको छ । गल्छीकी छोरीले नेपाल टप गर्दा गर्व गर्नुपर्ने गल्छीले एउटा सम्मान र सहयोग गर्न नसक्नु शिक्षा क्षेत्रमा गाउँपालिका अझै बेखबर भएको महसुस भएको बताउँछन्, गल्छीका एक स्थानीय । गल्छी गाउँपालिकाले इश्वरीजस्ती प्रतिभालाई छात्रवृत्ति समेत प्रदान गरेन । अझ यसरी भनौँ, गल्छीले इश्वरीलाई चिनेन, उनलाई सुन्दै सुनेन ।

इश्वरीले मैले नेपाल टप गरेको छु, भनेर गाउँपालिका धाइरहने कुरा पनि भएन । उसो त, गाउँपालिकाले इश्वरी नेपाल टप भएको खबर नसुनेको पनि होइन होला । गाउँपालिकाका सम्बन्धित् निकायले उनको प्रतिभालाई सम्मान गर्दै गल्छीबाट उत्कृष्ट प्रतिभा निर्माण गर्न इश्वरीलाई छात्रवृत्ति दिएर सहयोग गर्नुपर्ने बताउँछन्, अर्का स्थानीय ।

तर, गल्छी गाउँपालिकाले न उनको प्रतिभालाई सम्मान गर्यो न छात्रवृत्ति नै दियो ।