उत्तम नेपालको सहयोगमा डुम्रिचौरमा बिद्यालय भवन निर्माण

1077 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

 धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ डुम्रिचौरमा जन्मिएर ३० बर्षदेखि बेलायत बस्दै आएका नेपाली व्यवसायी उत्तम नेपालले आफ्नो जन्मस्थानमा करीब ३ करोड नेपाली रुपैयाँ लगानीमा सुविधा सम्पन्न विद्यालय भवन निर्माण गरिदिनुभएको छ ।

बेलायतमा सन् १९९१ देखि व्यवसाय गरिरहनु भएका व्यवसासी नेपालले आफ्नो जन्मथलो धादिङको गल्छी गाउँपालिका वडा नम्बर १ डुम्रिचौर स्थित सरस्वती माध्यमिक विद्यालयका लागि नयाँ भवन निर्माण गरिदिनुभएको हो ।

नेपालको अग्रसरतामा बनेको अत्याधुनिक विद्यालय भवन कुल १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल ३८० जना विद्यार्थी पढ्न सक्ने क्षमता भएको विद्यालयको नयाँ भवन बनेसँगै अर्को शैक्षिक सत्र देखि ५०० भन्दा भन्दा विद्यार्थी पढाउन सकिनेछ । ‘आफु जन्मेको गाउँमा रहेको २०१८ सालमा स्थापना भएको बिद्यालय र गाउँका धेरै घर २०७२ सालको भुकम्पले भत्काईदिएपछि जन्मभूमीका लागि केही सहयोग गर्नुपर्छ भनेर विद्यालय निर्माणको अठोट लिएको थिएँ,ु विद्यालय भवन निर्माणमा सहयोग गर्नुभएका नेपालले भन्नु हुन्छ, धेरै ठूलो सहयोग गर्न नसकेपनि साना बालबालिकाको उज्ज्वल भविष्यको लागि सानो सहयोग गाउँमा गरेको छु । विदेशमा बसेर दुःख गरेर जम्मा गरेको सानो हिस्सा आफ्नो मातृभूमिको लागि सहयोग गर्न पाउँदा निकै खुसी लागेको नेपालको भनाई छ ।

नयाँ विद्यालय भवनको उद्घाटन केही समय भित्रै सम्पन्न गर्ने तयारीमा लागिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहनु भएका जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले वताउनुभयो ।

बेलायतमा रहेका नेपालीमध्ये एक सफल व्यवसायीको रुपमा उत्तम चिनिनुहुन्छ । उहाँको ‘उत्तम लण्डन’ भन्ने कपडाको ब्राण्ड विश्वबजारमा निकै लोकप्रिय छ। उत्तमले भुकम्प लगत्तै गाउँमा आएर भुकम्प पिडितहरुलाई खाद्यान्न तथा त्रिपाल सहयोग समेत गर्नुएको थियो ।

व्यवसायी नेपाल समय समय विभिन्न किसिमका सहयोग कार्यक्रम लिएर आफ्नो जन्मभूमी आउने गर्नुभएको छ । नेपालको यो सहयोगले मानिस संसारको जुनसुकै कुनामा पुगेपनि आंफु जन्मिएको ठाउँलाई भुल्नु हुँदैन भन्ने सन्देश दिएको गल्छी गाउँपानलिका वडा नम्बर १ का वडाअध्यक्ष एवम सरस्वती माविका पुर्व प्रधानाध्यापक पूर्णप्रसाद खतिवडा बताउनुहुन्छ ।