लकडाउनको अवस्थामा सालको काठ तस्करी

1436 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर १ मैदीबाट बिहीबार प्रहरीले अवैध काठ बरामद गरेको छ ।

चिरान गरेको ३७ थानको ६०.७३ क्युफिट तयारी सालको काठ गाडीमा लोड गर्दै गरेको अवस्थामा भेटिएपछि प्रहरीले बरामद गरेको हो । तस्करी गरिहेको सालको काठको बिहीबार बरामद गरिएको छ ।

ढल्पु सामुदायिक वनबाट काठ लोड गरिरहेको बा ४ ख १७२७ नम्बरको आइचर ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

लकडाउनको अवस्थामा गाडी चलाएको भेटिएपछि प्रहरीले उक्त ट्रकको पिछा गर्दै जाँदा काठ लोड गरिरहेको भेटिएपछि बरामद गरिएको मैदी प्रहरी चौकीले जनाएको छ ।

मैदी प्रहरी चौकी र सामुदायिक ढल्पु सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीहरुको सक्रियतामा उक्त आइचर ट्रकलाई नियन्त्रणमा लिएर डिभिजन वन कार्यालय धादिङमा बुझाइएको उपभोक्ता समितिको अध्यक्ष शिवनारायण श्रेष्ठले बताए ।

डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृत लोकनाथ लम्सालले काठसहित आइचर ट्रक नियन्त्रणमा लिएपनि चालक फरार रहेको पाईएकाले निजको खोजी भइरहेको बताएका छन् । आइचरका चालकलाई पक्राउ गरी वन ऐन २०७६ अनुसार कानुनी कारबाही गरिने लम्सालले जानकारी दिए ।

आइचर चालक ज्वालामुखी गाउँपालिका वडा नम्बर २ का भीमबहादुर गुरुङ फरार रहेकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।