धादिङबेसीको निःशुल्क भोजन कार्यक्रम प्रशासनद्वारा बन्द

1904 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

  • धादिङ न्यूज समाचारदाता

धादिङ । लकडाउनका कारण समस्यामा परेका विपन्न र दैनिक ज्याला मजदुरी गर्नेका लागि धादिङबेँशीमा सुरु गरिएको निःशुल्क भोजन कार्यक्रम स्थानीय प्रशासनले बन्द गरिदिएको छ । नीलकण्ठ नगरपालिकाले विभिन्न संघसंस्थाको सहयोग लिएर बुधबारदेखि सुरु गरेको निःशुल्क भोजन कार्यक्रम बिहीबार बिहानबाट रोकिएको हो । भीडभाडमा मान्छे जम्मा पारी खाना खुवाउँदा कोरोना संक्रमणको डर भएको भन्दै स्थानीय प्रशासनले प्रहरी लगाएर मेस बन्द गरिदिएको हो ।

कोरोना सङ्क्रमण फैलिन नदिन सरकारले देशैभर लकडाउन गरेको अवस्थामा नगरपालिकाले विपन्न र असहायहरूका लागि निःशुल्क भोजन कार्यक्रम सञ्चालन गर्दा बजारमा मानिसहरूको चहलपहल बढेर संक्रमणको जोखिम बढेको भन्दै मेस सञ्चालनमा रोक लगाउनु परेको धादिङका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो ।

गरिब तथा विपन्न पहिचानका लागि नगरपालिकाले निवेदन माग गर्दा सम्पन्न व्यक्तिहरू समेत गरिबको सूचीमा नाम दर्ता गर्न आएपछि नगरपालिकाले अतिविपन्न र असहायहरूका लागि १४ वटै वडामा निःशुल्क भोजन गराउने निर्णय चैत २३ गतेको कार्यपालिकाको बैठकबाट गरिएको थियो । बुधबार बिहानबाट नीलकण्ठ माध्यमिक विद्यालयमा सुरु भएको सामूहिक मेस बिहीबार बिहानको खाना खाने समयमा प्रहरीले भाँडाकुंडा उठाएर लगेपछि नीलकण्ठ नगरपालिकालगायत उक्त कार्यक्रम सञ्चालन गर्ने संस्थाहरूले संयुक्त विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका छन् ।

नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गाना, जिल्ला होटल संघका अध्यक्ष राजकुमार श्रेष्ठ, टोल सुधार महासमितिका अध्यक्ष नरबहादुर श्रेष्ठ, धादिङ चेम्बर अफ कमर्शका अध्यक्ष गोविन्दकुमार श्रेष्ठ र धादिङ उद्योग वाणिज्य संघका मध्य क्षत्रीय समितिका अध्यक्ष राजकुमार श्रेष्ठले संयुक्त बिज्ञप्ति जारी गर्दै प्रशासनको कदमप्रति विरोध जनाएका हुन् ।

प्रमुख जिल्ला अधिकारीको आदेश भन्दै सामूहिक भोजन स्थलबाट प्रहरीले जबर्जस्ती खाना पकाउने भाँडाकुंडा र अन्य सामान जफत गरी गरिब तथा विपन्नहरूको खान पाउने अधिकार खोसेको उनीहरूले बताएका छन् । बजारभित्रका गरिब तथा असहायहरूलाई आजैदेखि खाना खुवाउने कामको जिम्मा लिन उनीहरूले स्थानीय प्रशासनलाई आग्रह समेत गरेका छन् ।

भीडभाड र सामूहिकरूपमा भेला गर्दा कोरोना सङ्क्रमण फैलिन सक्ने भएकाले स्थानीय प्रशासनलाई यस्ता गतिविधिमाथि रोक लगाउन नेपाल सरकारले दिएको निर्देशनअनुसार सामूहिक भोजन कार्यक्रम बन्द गर्नु परेको स्थानीय प्रशासनले जनाएको छ ।

नीलकण्ठ नगरपालिकाले भने प्रशासनले बलमिच्याइँ गरेर गरिब तथा असहायहरूको छाक खोसेको आरोप लगाएको छ । सामूहिक भोजन कार्यक्रम धादिङ उद्योग वाणिज्य संघ, धादिङ चेम्बर अफ कमर्श, टोल सुधार महासमिति, जिल्ला होटल संघ र धादिङ सोसियल भोलेन्टियर्ससँगको सहकार्यमा सञ्चालन गरिएको थियो ।

आफूहरूले सबै सुरक्षा संयन्त्र अपनाएर निःशुल्क भोजन कार्यक्रम सुरु गरेकोमा जिल्ला प्रशासन कार्यालय धादिङले हस्तक्षेप गरी प्रहरीमार्फत भान्साका सम्पूर्ण भाँडाकुँडा र ग्यासलगायतका सामग्री जफत गरेकोप्रति नीलकण्ठ नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको नगरपालिकाका प्रवक्ता गौतमहरि अधिकारीले जानकारी दिनुभयो ।

नगरपालिकाले प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिई बजार क्षेत्रमा माइकिङ गरेर ज्यालादारी र विपन्न वर्गलाई जानकारी गराई सुरु गरिएको निःशुल्क भोजन स्थलमा प्रहरी लगाएर स्थानीय प्रशासनले हस्तक्षेप गरेपछि नियमित खाना खाइरहेकालाई अब के गर्ने भन्ने समस्या उत्पन्न भएको अधिकारीले बताउनुभयो ।

नीलकण्ठ नगरपालिकाले सञ्चालन गरेको सामूहिक भोजनको बजारभित्रका एक समूहले विरोध गर्दै आएका थिए । राहत बितरण नगरी भोजन गराएको भन्दै सामाजिक सञ्जालहरूमा नगरपालिकाको विरोध भइरहेको थियो