धादिङमा स्थानीय प्रशासनद्वारा लकडाउन थप कडा

1245 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । सडकमा अनावश्यकरूपमा मानिसहरूको उपस्थिति बढ्न थालेपछि कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न धादिङमा स्थानीय प्रशासनले लकडाउनलाई थप कडा बनाएको छ ।

स्थानीय प्रशासनले मंगलबार बेलुकीबाट जिल्लाभर औषधिबाहेकका सबै पसल बन्द गर्न निर्देशन दिएको थियो । अघिल्ला दिनका तुलनामा बिहीबारदेखि सदरमुकाममा मानिसको हिँड्डुलमा निकै कमी आएको छ । प्रहरीले गस्ती बढाउनुका साथै माइकिङ गरेर घरबाहिर ननिस्कन बजारवासीलाई आग्रह गरिरहेको छ ।

जिल्लाको सदरमुकाममात्रै होइन गाउँगाउँमा रहेका प्रहरी युनिटलाई पनि गस्ती बढाएर घरबाहिर निस्किएर बसेका मान्छे भेटे सम्झाइबुझाइ गर्न र अटेर गरे आवश्यक कारबाहीका लागि निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रूपक खड्काले बताएका छन् ।

लकडाउन अटेर गरी बजारमा हिँड्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही गर्न सक्ने चेतावनी दिएको छ । प्रहरीले अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन सबैमा आग्रह गरेको छ । आरडिटीबाट परीक्षण गर्दा जिल्लाका ३ जनामा पोजेटिभ देखिएपछि स्थानीय प्रशासनलाई लकडाउन कडा बनाउन प्रहरीले निर्देशन दिएको हो ।

र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट परीक्षण गर्दा धादिङमा तीन जनामा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएको थियो । तीन जनामध्ये नेत्रावती डबजङ गाउँपालिकाका दुईमा राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणबाट रिपोर्ट नेगेटिभ आएको छ भने ज्वालामुखीका एक जनाको रिपोर्ट आउन बाँकी नै छ ।

फागुन २० गते दक्षिण कोरियाबाट घर फर्किएका २७ वर्षीय ती युवाको अहिले धादिङबेँशीस्थित कोरोना विशेष क्लिनिकमा उपचार भइरहेको छ । अफगानिस्तानबाट आएका युवा र उनकी श्रीमतीमा आरडिटी विधिबाट परीक्षण गर्दा पोजेटिभ आए पनि राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको पिसिआर परीक्षणबाट रिपोर्ट नेगेटिभ आएको नेत्रावती डबजङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कृष्णबहादुर पौडेलले बताए ।

यसैबीच, जिल्ला कमान्ड पोस्टले ज्वालामुखी गाउँपालिकामा आरडिटी विधिबाट पोजेटिभ रिपोर्ट आएका युवाको बसोवास क्षेत्र, आफन्त र विदेशबाट आएपछि भेटेका सबै व्यक्तिको कोरोना परीक्षण गर्ने निर्णय गरेको छ ।