घर हिडेका सयौं पैदल यात्री मौवाखोलामा अलपत्र

1569 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ ४ बैशाख – बाहिरी जिल्लाबाट हिंडेर आएका व्यक्तिलाई चितवन जिल्ला प्रवेश गर्न नदिने जिल्ला प्रशासन कार्यालय चितवनको अडान पछि ३ सय भन्दा धेरै पैदलयात्री धादिङ र चितवन जिल्लाको सिमानामा पर्ने पृथ्वीराजमार्गको मौवाखोलामा अलपत्र परेका छन् ।

 धादिङ तर्फको सडक हुँदै चितवन गइरहेका ती पैदलयात्रुलाई चितवन प्रशासनले हिड्न रोकेपछि उनीहरु अलपत्र भएका हुन् । दुबै जिल्लाले आफ्नो जिल्लाको सडक क्षेत्रलाई पैदलयात्री हिड्न रोक लगाएको छ ।

धादिङ जिल्लाको सडक भएर चितवन तर्फ जाँदै गरेका यात्रुलाई जिल्ला प्रशासन कार्यालय चितवनले मौवाखोलाबाट अघि बढ्न रोकेको छ । दुई जिल्लाको सिमानामा रहेको मौवाखोलामा मानिसहरुको भीड बढ्न थालेपछि भन्दै अलपत्र परेकालाई तत्काल व्वस्थापन गर्नुपर्ने स्थानीयले वताएका छन् । धेरै मान्छे उकै ठाउँमा राखिंदा संक्रमणको डर बढेको स्थानीय बताउँछन् । आफुहरु पनि नेपाली नागरिक भएकाले मानवीय व्यवहार देखाउन पैदलयात्रीले आग्रह गरेका छन् ।

हिँडेरै आफ्नो घर जाने भनेर काठमाण्डौं, नुवाकोट, धादिङका बिभिन्न स्थानबाट पैदलयात्रामा गइरहेका उनीहरुलाई प्रहरीले मौवाखोलामा रोकेपछि त्यसको विरोधमा स्थानीयहरुले अत्यावश्यक सवारी साधनलाई समेत रोकेर विरोध जनाएका छन् । मौवाखाला उत्पन्न समस्या समाधानका लागि धादिङ र चितवनका प्रमुख जिल्ला अधिकारी सहितको उच्च स्तरीय बैठक मौवाखोलामा बसेपनि चितवन प्रशासनले मान्छे प्रवेश गर्न नदिने अडान राखेपछि त्यहाँका स्थानीय थप आक्रोशित हुन पुगेका छन् ।

सयौंको संख्यामा रहेका पैदल यात्रीलाई अहिले धादिङ र चितवन जिल्लाका बासिन्दाले दुवै तर्फ बस्न नदिएपछि उनीहरु पुलमाथि बसिरहेका छन् ।

जिल्ला प्रशासन कार्यालय धादिङले बुधबार सूचना जारी गर्दै काठमाडौसँग जोडिएको धुनीबेसी नगरपालिकाको पिपलामोड देखि चितवन जिल्ला जोडिएको बेनिघाट रोराङको मौवाखाला सम्म पास नभएका सवारी साधन र पैदल यात्रा गर्न समेत रोक लगाएको थियो ।