बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालक थुनामा

1066 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । ज्वरो आएका बिरामी बोक्न नमान्ने एम्बुलेन्स चालकलाई धादिङको स्थानीय प्रशासनले कारबाही थालेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरसको संक्रमणबाट बच्न आवश्यक सुरक्षा सामग्री दिएर सेवामा खटाएको एम्बुलेन्स चालकले बिरामी बोक्न नमानेर भागेपछि जिल्ला प्रहरी कार्यालय धादिङले त्यस्ता चालकको खोजी गर्दै कारबाही थालेको हो ।

जिल्लाको ज्वालामुखी गाउँपालिकाको मैदी स्वास्थ्यचौकीका एम्बुलेन्स चालक किशन श्रेष्ठविरुद्ध स्थानीय प्रशासनअन्तर्गत अभद्र व्यवहारको मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिएका छन् ।

वैशाख २ गते मंगलबार आरडिटी कीटबाट परीक्षण गर्दा पोजेटिभ रिर्पोट आएका ज्वालामुखी अमराईका एक युवालाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याउनका लागि स्वास्थ्यचौकीको एम्बुलेन्स खोज्दा त्यसका चालक श्रेष्ठ सम्पर्कविहीन भएका थिए ।

स्वास्थ्यचौकीको एम्बुलेन्सले बिरामी बोक्न नमानेपछि अरु एम्बुलेन्सपनि गाउँ जान तयार नभएपछि सोही दिन राति १० बजे बिरामी आफैँले मोटरसाइकल हाँकेर जिल्ला अस्पतालको आइसोलेसन कक्षमा आएका थिए । एम्बुलेन्स चालकको उक्त कार्यको सबैतिरबाट विरोध भएको थियो ।

अघिल्लो राति बिरामी बोक्न नमानेर भागेका चालक भोलिपल्ट एक निजी मेडिकलको सामान बोकेर सदरमुकामबाट गाउँ जांदै गर्दा अमराईका स्थानीयले उक्त एम्बुलेन्स नियन्त्रणमा लिई तोडफोडसमेत गरिदिएका थिए ।

सरकारी कोटाबाट दिएको पिपिई प्रयोग नगरी आफूसँग व्यक्तिगत सुरक्षा सामग्री नभएको भन्दै गलत प्रचार गरेको र बिरामी बोक्ने साधनमा पसलको सामान बोकेको भन्दै चालकलाई कारबाहीका लागि स्थानीयले दबाब दिएपछि चालक बिहीबार पक्राउ परेका थिए ।

पक्राउ परेका चालकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अभद्र व्यवहारको मुद्दामा अनुसन्धान गर्नका लागि अदालतबाट म्याद थप गरिएको छ ।

जिल्लाका अधिकांश एम्बुलेन्स चालकहरु अहिले सुरक्षाको कारण देखाउँदै ज्वरो आएका बिरामी बोक्न नमानेर भाग्ने गरेको गुनासो आइरहेकाले सुरक्षा सामग्री भएर पनि प्रयोग नगरी बहानावाजी गर्ने एम्बुलेन्स चालकहरुको खोजी गरी आवश्यक कारबाही गरिने जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।