गल्छीको हेल्प डेस्कबाट आठ सय पैदलयात्रीलाई सहयोग

729 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

(गल्छी)-धादिङ । पैदलयात्रीलाई लक्षित गरी धादिङको गल्छीचोकमा स्थापना गरेको हेल्प डेस्कले आठ सय जनाभन्दा बढीलाई सहयोग गरेको छ । हेल्प डेस्कले हिँडेर आएकाहरूलाई रोकेर आराम गराई खाजा खुवाउनुका साथै उनीहरूको स्वास्थ्य अवस्थाको जानकारी लिएर सामान्य खालका समस्या भए औषधि दिनुका साथै गन्तव्यसम्म मोटर चढाएर पठाइदिने गरेको छ ।


लकडाउनको दोस्रो साता सुरु हुँदा राजमार्गमा हिँड्नेहरूको भीड बढ्न थालेपछि धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले गल्छीमा हेल्प डेस्क स्थापना गर्न गल्छी गाउँपालिका र प्रहरी चौकीलाई सल्लाह दिएका थिए । हेल्प डेस्क स्थापना भएपछि अन्य ठाउँबाट हिँड्दै आए पनि गल्छीबाट भने कसैलाई हिँडेर जान नदिइएको, जुन मोटर भेटिन्छ त्यसैमा चढाएर पठाउने गरिएको गल्छी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सुरेन्द्र शाहले बताउनुभयो । ।

जिल्ला प्रशासन कार्यालय धादिङको अनौपचारिक आग्रहमा चैत १३ गतेदेखि सुरु भएको सो डेस्कले विभिन्न ठाउँबाट गाउँ फर्किन हिँडेका पैदलयात्रीलाई रोकेर खानेकुरा दिने तथा गन्तव्यमा पुग्ने गाडी चढाएर पठाउने गरेको छ । गल्छी प्रहरी चौकीले हेल्प डेस्कको सञ्चालन गरिरहेको छ भने गल्छी गाउँपालिका वडा नं–७ का अध्यक्ष हरि खतिवडाले प्रत्यक्ष संयोजन गरिरहेका छन् ।

आफ्नो वडाभित्रका नागरिकको समस्या सुनुवाइ गर्दै अधिकांश समय गल्छीचोकमा उपस्थित भएर पैदलयात्रीहरूको सहयोगमा वडा अध्यक्ष आफैँ खटिइरहेका भेटिन्छन् । खतिवडाको संयोजनमा रहेको स्थानीय स्वयंसेवक टोलीले पैदलयात्रा गरेर आएकाहरूलाई गल्छीमा रोकेर सहयोग गरिरहेको नेपाल रेडक्रस सोसाइटी बैरेनी उपशाखाका उपसभापति केशव रिमालले  बताउनु भयो ।


‘हामीले समस्यामा परेका पैदलयात्रीलाई निरन्तर सहयोग गरिरहेका छौँ । उद्योग कलकारखाना तथा अनौपचारिक क्षेत्रमा ज्याला मजदुरी गर्ने व्यक्तिहरू पैदलयात्रामा भेटिएका छन् । यहाँ आइपुगेपछि सामान बोक्ने खाली गाडीमा चढाएर पठाउने गरेका छौँ । अहिलेसम्म यहाँबाट आठ सय जनाभन्दा बढीलाई गन्तव्यमै पुग्ने गाडी चढाएर पठाइसकेका छौँ’, वडा अध्यक्ष खतिवडा ले भन्नुभयो ।

गल्छीचोक रसुवा तथा नुवाकोट जोड्ने ट्रान्जिट हो । नुवाकोट तथा रसुवाका विभिन्न उद्योग, निर्माण र अनौपचारिक क्षेत्रमा काम गर्न पश्चिम नेपालका कालिकोट, जाजरकोट, सल्यान, दाङ, रुकुम, रोल्पाका साथै तराईका जिल्लाबाट मजदुर आउने गरेका छन् । हिँडेर आउने ती सबैलाई गल्छी हेल्प डेस्कले रोकेर पानी, खाजा खुवाउनुका साथै उपलब्ध मोटर चढाएर गन्तव्यसम्म पठाउने गरेको गल्छी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले बताउनु भयो ।

प्रधानमन्त्रीको निर्देशनमा आइतबारदेखि राजमार्ग क्षेत्रका अन्य स्थानीय तहले पैदलयात्रीलाई गाडी चढाएर पठाउन थालेको भए पनि धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको आग्रह तथा स्थानीय जनप्रतिनिधि र प्रहरीको पहलमा गल्छीबाट भने चैत १३ गतेदेखि नै पैदलयात्रीलाई मोटर चढाउने गरिएको थियो । हिँडेर आएकाहरूलाई गल्छी हेल्प डेस्कले रोकेर खाजा खुवाउन थालेपछि स्थानीयले पनि यस कार्यमा सहयोग गर्दै आइरहेका छन् ।