काममा व्यस्त छ गल्छी गाउँपालिका

1444 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गल्छी ( धादिङ) –  गल्छी गाउँपालिकाले लक्षितवर्गलाई राहत वितरण गर्न सुरु गरेको छ । गल्छी गाउँपालिकामा करिव ११ सयले लक डाउन राहत पाउने छन् ।
विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोरोना–१९) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले गत चैत्र ११ गते देखि मुलुक लकडाउन गरेपछि दैनिक ज्यालामजदुरी गर्ने, अति विपन्न र असहायहरुमा खाद्यान्न संकट बढ्दै गएको छ ।

लक डाउनले दैनिक ज्यालादारी गर्ने ,अतिविपन्न परिवार र असहाय व्यक्ति पीडित बनेपछि उनिहरुको छाक नरोकियोस भनेर पालिकाले तत्कालका लागि राहत उपलव्ध गराउन थालेको गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठले जानकारी दिनु भयो ।

गल्छी गाउँपालिकाले राहतमा चामल, दाल ,तेल, नुन समावेश गरेको छ । राहत पाउन पालिकाले ३ तहमा बर्गिकरण गरेको छ । जस अनुसार तीन जना सम्मको परिवारले १५ केजी चामल, २ केजी दाल, २ केजी नुन र १ लिटर खाने तेल पाउनेछन ।

परिवारमा ६ जना सम्म रहेकाहरुले ३० केजी चामल ३ किलो दाल र २ किलो नुन र २ लिटर खाने तेल पाउनेछन । यसै गरि ६ जना भन्दा बढी परिवारका सदस्य हुनेले ४५ केजी चामल, ४ केजी दाल, २ केजी नुन र ३ लिटर तेल पाउने व्यवस्था मिलाईएको गल्छी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनकुमार श्रेष्ठले जानकारी दिनु भयो ।

वडातहबाट सिफारिस भई आएका नामावलीलाई पालिकाले राहत उपलव्ध गराएको हो । पालिकाले सोमबार सम्म वडा नम्बर १,२,३,६,७ र ८ मा राहत वितरण गरिसकेको छ भने वडा नम्बर ४ र ५ मा छिट्टै बितरण गर्ने तयारी भएको पनि प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले बताउनु भयो ।

राहत वितरण कायविधि अनुसार परिवार संख्याका आधारमा गरिब तथा विपन्न र असहायलाई राहत वितरण भईरहेको र नाम संकलनका क्रममा छुटेकाहरुलाई पनि राहत दिने व्यवस्था गरिएको गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमिल्सिनाले वताउनु भयो ।


राहत बितरण संगै पालिकाले भारत लगायत विदेशबाट आएका ४० जनाको आरडिटी परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको र आरडिटीका लागि माग गर्नेको संख्या बढिरहेको भएपनि किटको अभाव भएको गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख शिव पौडेल वताउनुहुन्छ । पालिकाले ३ वटा स्वास्थ्य चौकी र पाँच वटा आधारभूत स्वास्थ्य केन्द्रमा एक एक वटा थर्मल गन र त्यहाँका सबै स्वास्थ्यकर्मी कर्मचारीलाई पिपिई उपलव्ध गराएको पनि पौडेलले जानकारी दिनु भयो ।

यसै गरि गाउँपालिकाले गल्छीमा शुरु गरेको हेल्प डेस्कबाट १ हजार भन्दा बढिले सेवा लिएका छन । नुवाकोट रसुवा लगायतका जिल्लामा काम गरिरहेका मजदुर लकडाउन पछि घर फर्कनका लागि विभिन्न स्थानबाट हिंडेरै गल्छी आउने गरेका छन । गल्छी आएका मजदुरलाई हेल्प डेस्कमा राखेर स्वास्थ्य परिक्षण तथा खाजा, पानीको समेत व्यवस्था गरिएको र उपलव्ध साधनमा राखेर गन्तव्य पठाउने गरेको वडा नम्बर ७ का अध्यक्ष हरि खतिवडाले जानकारी दिनु भयो ।

पालिकाले भारत लगायत बाहिरबाट आएकाहरुलाई राख्नका लागि निर्माण गरेको क्वारेन्टाइनमा २५ जनाले दुई साता बसेर घर फर्किएका छन भने दुई जना अहिले पनि क्वारेन्टाईनमा वसिरहेका छन । यसै गरि पालिकाले आठ वटै वडामा विपद व्यवथापन समिति गठन गर्नुका साथै पालिका स्तरीय राहतकोषको पनि स्थापना गरेको छ । पालिकाले १० लाख रुपैयाँ राखेर शुरु गरेको कोषमा सहयोगी दाताहरुले आफ्नो इच्छाअनुसार सहयोग जम्मा हुने क्रम जारी रहेको पनि गाउँपालिकाले जनाएको छ ।

सामाजिक सन्जाल र सञ्चारमाध्यममा आएपछि मात्रै काम भएको देखिने परिपाटीको विकास भईरहेको बेला गल्छी गाउँपालिकाले भने आफ्नो पालिका भित्रका मात्रै होइन बाहिरी जिल्लाबाट आएकाहरुलाई गल्छी चोकमा रहेको हेल्पडेस्क मार्फत सहयोग गरिरहेको छ ।