एक महिनामा धादिङ अस्पतालद्वारा १८६३ बिरामीको उपचार

841 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ । जिल्ला सदरमुकाम धादिङबेँशीमा रहेको धादिङ जिल्ला अस्पतालले लकडाउन सुरु भएपछिको एक महिनामा १ हजार ८ सय ६३ जना बिरामीको उपचार गरेको छ । कोरोना संक्रमणका कारण कतिपय ठूला अस्पतालले बिरामीहरूको उपचार नगरेको गुनासो आइरहेको बेला धादिङ अस्पतालले ओपिडी सेवालाई निरन्तरता दिँदै आइरहेको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र धमलाले बताउनु भयो ।

गत चैत महिनाको ११ गतेदेखि वैशाख १० गतेसम्म अस्पतालबाट १ हजार ८ सय ६३ जना बिरामीले सेवा पाएको अस्पतालका सूचना अधिकारी विक्रम बिकले जानकारी दिनु भयो । अस्पतालमा ओपिडी सेवा, इमर्जेन्सी, प्रसूति तथा ज्वरो क्लिनिक सेवा दिइरहेको, लकडाउनको समयमा अस्पतालले नियमित सेवा प्रवाह गरेको बिकले जानकारी दिनु भयो । गएको चैत्र १० देखि वैशाख १० गतेसम्म १ हजार ८ सय ५० जना बिरामीलाई सेवा प्रदान गरेकोमध्ये सामान्य ओपिडी सेवामा १ हजार १ सय ७० जना, ज्वरो क्लिनिकमा ३ सय ५४, आकस्मिक सेवामा ६ सय ७१ जना रहेका छन् । त्यस्तै, सामान्य प्रसूति सेवा लिएका ५५ र जटिल प्रसूति (अप्रेसन) सेवा लिने १०, अल्ट्रासाउन्ड ९२, इसिजी १ सय ३९, एक्सरे ५ सय ५०, युएसजी १ सय ८८, डेन्टल ओपिडी ४८ र फिजियोथेरापी ६ जना, रेविज भ्याक्सिन सेवा लिएका ९० जना र एआरटी नियमित तथा थप विशेष सेवा लिएका १ सय ५२ गरी १ हजार ८ सय ६३ जना बिरामीलाई सेवा प्रदान गरिएको अस्पतालका सूचना अधिकारी विक्रम बिकले जानकारी दिनु भएको छ ।

यस अवधिमा अन्तरङ्ग विभागमा भर्ना भई उपचार सेवा लिएका ८० जना र उपचारपछि डिस्चार्ज हुनेको संख्या ६२ जना रहेको छ भने ५ जनालाई कोरोना विशेष क्लिनिकको आइसोलेसनमा राखी उपचार गरिएको उनले बताए । सेवा पाउनेहरूमा नीलकण्ठ नगरपालिकाभित्रका १ हजार ४ सय ११ जना छन् ।

यसैगरी, ज्वालामुखीका १ सय ४७, सिद्धलेकका १ सय ३३, नेत्रावती डबजोङका ४४, गंगाजमुनाका ३१ र त्रिपुरासुन्दरीका २८ जनाले सेवा लिएका छन् । त्यस्तै रुवीभ्यालीका २०, खनियाबासका १३, गल्छीका ८, गजुरीका ३, बेनिघाट रोराङका २ र अन्य ठेगाना नखुलेका २३ जनाले सेवा लिएको अस्पतालले जनाएको छ । अस्पतालमा कोरोना भाइरसको त्रासपछि ज्वरो आएका बिरामीका लागि छुट्टै क्लिनिक सञ्चालन भइरहेको छ भने कोरोनाको शंका लागेमा छुट्टै राखेर उपचार गर्ने गरिएको छ ।