एक क्विन्टल चरेश सहित गजुरीबाट दुई जना पक्राउ

1135 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २ जेठ – प्रतिवन्धित लागू औषध चरेस ओसार पसारमा संलग्न दुई जना व्यक्ति १ सय किलो चरेस सहित धादिङको गजुरीबाट पक्राउ परेका छन् ।

गजुरी गाउँपालिका वडा नम्बर ५ र ६ को सिमानामा पर्ने दरिङ्गाल खोलाबाट विहिवार दिउँसो १ सय किलो चरेस सहित २ जना पक्राउ परेको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक खगेन्द्रवहादुर खड्काले जानकारी दिनुभयो ।

चरेस किन्ने ग्राहक बनेर खरिद गर्न गएको प्रहरीको बिशेष टोलीले गजुरी गाउँपालिका वडा नम्बर २ बस्ने ३७ बर्षिय टेकबहादुर तामाङ र सोहि स्थानका २६ बर्षिय विशाल तामाङलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जना प्रहरीकै खोजी सूचीमा रहेका व्यक्तिहरु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

पृथ्वी राजमार्गको आदमघाट बजारमा ६ लाख नगद लेनदेनभइ ग्राहक बनेर खरिद गर्न गएको प्रहरीले चरेस ओसारपसारमा प्रयोग गरिएका २ मोटरसाइकल समेत बरामद गरेको छ । तस्करीमा संलग्न २ व्यक्ति र २ मोटरसाइकल नियन्त्रणमा लिइए पनि अन्य फरार ३ जनाको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख ( एसपि) रवीन्द्र रेग्मीले बताउनुभयो ।

इप्रका गजुरीका प्रहरी नायव उपरीक्षक खड्काका अनुसार चरेस बोक्न प्रयोग गरिएको वा ९७ प ४९९ र प्रदेश ३–०२–००१–प ७४५८ नम्बरको मोटरसाइल काठमाडौंबाट चोरी भएर हराएको मोटरसाईकल रहेको छ । पक्राउ परेकाहरुलाई लागूऔषध ओसारपसार, मोटरसाइकल चोरी र सम्पत्ति शुद्धिकरण मुद्दामा छानबिन पश्चात मुद्दा चल्ने बताईएको छ ।