धादिङमा कोरोना संक्रमित हुनेको संख्या ८२ पुग्यो

1262 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-धादिङमा केही दिन यता कोरोना संक्रमितहरुको संख्या थपिंदै गएको छ । जिल्लाका १३ स्थानीय तह मध्ये नीलकण्ठ नगरपालिकामा मात्रै कोरोना संक्रमितको संख्या ४१ पुगेको छ । जिल्लाभर ८२ जना संक्रमित देखिँदा आधा संख्या नीलकण्ठ नगरपालिकाको मात्रै रहेको छ ।

धादिङमा पछिल्लो समय कोरोना संक्रमितहरुको संख्या बढ्दै गएपनि समुदाय स्तरमा भने संक्रमण खासै देखिएको छैन। अधिकांश संक्रमित नेपाल भारत सीमा नाकासम्म पुगेर उद्धार गरि ल्याईएकाहरुनै रहेका छन्। लकडाउनको अवधिमा भारतका विभिन्न स्थानबाट सिमाना सम्म आएपछि अलपत्र हुनपुगेका आफ्ना नागरिकलाई धादिङको नीलकण्ठ नगरपालिकाको साथै अन्य स्थानीय तहले निःशुल्क बसको व्यवस्था गरि उद्धार गरेर गाउँसम्म ल्याएका थिए।

भारतबाट आएर स्थानीय क्वारेन्टाईनमा बसिरहेका मध्ये नीलकण्ठ नगरपालिकाका २३ जनामा शनिबार कोरोना संक्रमण (कोभिड १९) पुष्टि भएको छ । सहिदशुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौँका डाइरेक्टर डा। सागरराज भण्डारीका अनुसार संक्रमित मध्ये ५ जना महिला र १८ जना पुरुष गरी २३ जना रहेका छन्। शनिवार पुष्टि भएका संक्रमितहरु सबै भारतबाट आई नीलकण्ठ नगरपालिकाको विभिन्न वडामा निर्माण गरिएको क्वारेन्टाईनमा बसिरहेकाहरु रहेको नीलकण्ठ नगरपालिकाले जनाएको छ ।

आरडिटि टेष्टमा पोजेटिभ आएकाहरुको गत जेठ २९ गते स्बाब संकलन गरी पिसिआर परिक्षणका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाईएको थियो। प्रयोगशालामा गरिएको परिक्षणमा शनिवार २३ जनाको रिर्पोट पोजेटिभ अर्थात कोरोना संक्रमण पुष्टि भएसंगै नीलकण्ठ नगरपालिकामा संक्रमितहुनेको संख्या ४१ पुगेको नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिष्णु रिजालले जानकारी दिनुभयो ।

शनिवार सांझ सम्ममा जिल्लाभर कोरोना संक्रमित हुनेहरुको संख्या ८२ पुगेको छ। नीलकण्ठ पछि जिल्लाको ज्वालामुखीमा २७ जना, त्रिपुरासुन्दरीमा ७ जना, सिद्धलेकमा २ जना र नेत्रावतीडवजोङ, गल्छी, थांक्रे, धुनिवेसी र गजुरीमा १/१ जना संक्रमित भेटिएका छन। संक्रमित देखिएका मध्ये तीन जना निको भएर घर फर्किएका छन भने अन्य उपचाररत छन्।