संक्रमित थपिदै गएपछि आईसोलेसन बेडको अभाव

1503 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ– धादिङ जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको हुनेको संख्या निकै बढ्दै गएको छ । अहिले सम्म जिल्लाका ९२ जनामा संक्रमणको पुष्टि भएको छ भने ति मध्ये नीलकण्ठ नगरपालिकाको मात्रै ५२ जना छन । जिल्लाका विभिन्न स्थानका पाँच जना भने उपचार पछि निको भएर घर फर्किएका छन ।

जिल्लाभर क्वारेन्टाईन बेडको क्षमता १३ सय ७६ रहेको छ जस्मा अहिले २० महिला २०७ जना बसिरहेका छन् । त्यसैगरि आईसोलेशन बेडको संख्या ३९ रहेको भएपनि ६ महिला सहित ५२ जनालाई आईसोलेसनमा राखिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा अहिले नीलकण्ठ नगरपालिका २४, थांक्रे गाउँपालिका ५,गजुरी गाउँपालिका २,बेनिघाट रोराङ गाउँपालिका ३, त्रिपुरासुन्दरी गाउँपालिकामा ५ बेड क्षमताकोे आईसोलेसन बेड रहेको छ ।

पछिल्लो समय संक्रमितको संख्या हरेक दिन बढ्न थालेपछि बेडको अभाव हुंदा उपचार प्रभावित हुने भएकाले संकट व्यवस्थापन केन्द्रले सम्वन्धित स्थानीयतहहरुलाई नेपाल सरकारले तोकेको मापदण्ड अनुसारको आईसोलेशन बेड थप्न निर्देशन दिएको छ ।

धादिङ जिल्लाको विभिन्न गाउँबस्तीका बासिन्दा लकडाउनको अवधिमा भारतबाट सामूहिक रुपमा घर फर्किएपछि समूहगत रुपमा कोरोना संक्रमण देखिन थालेको हो ।

संकट व्यवस्थापन केन्द्र ( सिएमसि) धादिङको अभिलेख अनुसार कोरोना भाइरसको महामारी फैलिएपछि जेठ मसान्त सम्ममा भारत लगायत अन्य देशबाट १ हजार जना जिल्लाबासी गाउँ फर्किएका छन् । लकडाउन पछि गाउँ फर्किएकाहरुमा अधिकांश भारतबाट आएकाहरुनै रहेका छन् ।

नेपाल भारतको सिमा नाका सम्म आएपछि सम्वन्धित स्थानीय तहले आफ्ना नागरिकको उद्धार गर्दै आईरहेका छन । यसरी ल्याईएकाहरुलाई सम्वन्धित स्थानीय तहले व्यवस्था गरेको क्वारेन्टाईनमा राखिंदै आएको जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले वताउनुभयो ।

नीलकण्ठ नगरपालिकाले पनि उद्धार गरि ल्याएका नागरिकलाई सदरमुकामको क्वारेनटाइनमा राखेर आरडिटी परिक्षण गराउँदा रिर्पोट नेगेटिभ आएपछि घर पठाईदिएकोमा अहिले तिनै व्यक्तिको पिसिआर पोजेटिभ देखिएपछि नगरपालिकाको विभिन्न वडामा त्रास फैलिएको छ ।

क्वारेनटाइनमा राखिएकाहरुलाई आरडिटि विधिबाट परिक्षण गर्दा नेगेटिभ आएपछि घर पठाईएको र उनिहरु घरगएपछि सोही समूहमा आएका मध्ये केहीलाई कोरोना पुष्टी भएपछि जेठ ३० गते स्वाब संकलन गरि पठाइएकोमा असार १ गते थप ९ जनामा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डा. भुवन पौडेलले जानकारी दिए । यस अघि नगरपालिका भित्रका ४२ जनामा कोरोना संक्रमण देखिएको थियो ।

सोमबार पुष्टि भएका समेत गरि नीलकण्ठ नगरपालिकामा मात्रै कोरोना संक्रमित हुनेको संख्या ५१ ज्ना पुगेको छ । सोमबार पुष्टि भएकाहरुमा नीलकण्ठ नगरपालिका वडानम्बर २ का २८ वर्षीय २ जना, वडा नम्बर ५ का २४ वर्षीय २ जना र २९ वर्षीय १ जना, वडा नम्बर ७ का २८ वर्षीय २ जना, वडानम्बर १० का २८ वर्षीय १ जना र वडा नम्बर १४ का ३८ वर्षीय १ जना रहेको नीलकण्ठ नगरपालिका स्वास्थ्य शाखा प्रमुख बिष्णु रिजालले वताउनुभयो ।

कोरोना संक्रमण देखिएको नीलकण्ठ नगरपालिकाका विभिन्न वडाहरुका गाउँटोल शील गरेर उनीहरुको सम्पर्कमा रहेकाहरुको पनि पिसिआर परीक्षण गराउने प्रकृया अघि बढाउने गरेको संकट ब्यवस्थापन केन्द्र धादिङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।