पहिरोले पाइप बगाएपछि छुम्राङ गाउँमा खानेपानी संकट

1545 पटक पढिएको

प्रकाशित मिति: २०७७, २५ असार बिहीबार २१:१५

सम्पादक: धादिङ न्यूज

 

 

रुबीभ्याली (धादिङ ) –  पहिरोले खानेपानीको पाइप बगाएपछि धादिङको रुबीभ्याली गाउँपालिका ५ छुम्राङ गाउँमा पानीको हाहाकार भएको छ । तत्काल पहिरो पन्छाएर पाइप जडान गर्न नसकिने भएपछि यहाँका स्थानीय आकासको पानी संकलन गरेर पिउन बाध्य छन्।

खानेपानीको पाइप जोड्नै नमिल्ने गरी पहिराले बगाएपछि गाउँमा खानेपानीको समस्या परेको हो। रुबीभ्याली गाउँपालिका(५ स्थित डेजोङबाट ल्याएको खानेपानीको पाइप असार १९ गतेको पहिरोले ठूलो क्षति पुर्‍याएको स्थानीय योराम तामाङले बताउनुभयो । पहिरोले खानेपानीको पाइप क्षति गरेपछि गाउँमा खानेपानीको प्रबन्धसमेत नभएको तामाङले सुनाउनुभयो।

छुम्राङ गाउँमा १४ घर बस्ती छ। चारैतिरबाट भिरले घेरेको र पहिरो पनि खसेका कारण गाउँमा तत्काल नयाँ पाइपलाइन जडान गर्न नसकिने अवस्था रहेको वडा अध्यक्ष धिराज तामाङले जानकारी दिनुभयो । वडा अध्यक्ष तामाङका अनुसार पहिरोले पाइप अड्याउन बनाइएको तुइनसमेत टुटेको छ। अहिले गाउँबासीले आकाशे पानी संकलन गरेर पिउने गरेका छन्। धेरैको घरमा पानी संकलन गर्ने भाँडासमेत नहुँदा थप समस्या रहेको स्थानीय हिम्बा तामाङले बताउनुभयो ।

यहाँका स्थानीयलाई लक्षित गरि केही समय अघि शान्ति नेपाल र वडा कार्यालयले खानेपानीको पाइप जडान गरिदिएका थिए। पहिरोका कारण समस्या भएपछि समस्या समाधानका लागि अध्ययन भइरहेको वडा अध्यक्ष तामाङले बताउनुभयो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७७, २५ असार बिहीबार २१:१५ मा प्रकाशित