मौवाखोलाबाट साना मोटर गुड्न थाल्यो

883 पटक पढिएको

प्रकाशित मिति: २०७७, ९ श्रावण शुक्रबार २१:१२

सम्पादक: धादिङ न्यूज

धादिङ – बाढीले पुल भत्काएपछि अवरुद्ध हुन पुगेको पृथ्वीराजमार्गको मौवाखोलाको पुल मर्मत गरी चार दिनपछि साना सवारी साधन गुडाउन थालिएको छ। साउन ५ गते सोमबार अविरल वर्षापछि आएको बाढीपहिरोले धादिङ र चितवन जिल्लाको सिमानामा रहेको मौवाखोलाको धादिङतर्फको भाग बगाएपछि त्यहाँबाट चल्ने सवारी आवागमन ठप्प हुन पुगेको थियो ।

देशका ६७ जिल्लालाई राजधानी काठमाडौंसँग जोड्ने मुख्य सडक खण्डमा पुल बगाएपछि अवरुद्ध बनेको नौबिसे–मुग्लिन सडकखण्डमा शुक्रबार दिउँसोदेखि साना गाडी चल्न थालेका हुन् । बाढीले भत्काएको पुलको भागमा नेपाली सेनाको सहयोगमा ग्याबिन जाली भरेर सञ्चालनमा ल्याइएको हो। बाढीले बगाएको पुलको मर्मतपछि मोटरसाइकल, साना चारपांग्रे सवारी र एम्बुलेन्स लगायतका सवारी चल्न थालेको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताउनुभयो ।

प्रजिअ तामाङका अनुसार मर्मत गरेर पुलकोे केही भाग मोटर गुड्न सक्ने बनाइएकाले साना गाडी चल्न थालेका हुन । मर्मत गरिएको भागमा राती कुनै समस्या नआए शनिवार विहान देखि ठूला गाडी पनि चल्ने गरी काम भइरहेको पनि प्रजिअ तामाङले जानकारी दिनुभयो । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले शुक्रबार बाढीले बगाएपछि मर्मत सुरु गरिएको पुलको अवलोकन गर्नु भएको थियो ।

(तस्बिर पोषनाथ अधिकारी बाट)



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७७, ९ श्रावण शुक्रबार २१:१२ मा प्रकाशित