थोपलखोला आसपासमा बाढी पहिरोको त्रास

2020 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ धादिङ जिल्लाको सदरमुकाम धादिङबेसी स्थित थोपल खोलामा पानीको बहाव बढ्दै जांदा आसपासका वासिन्दा त्रसित हुन थालेका छन् ।

नुवाकोट र धादिङ जिल्लाको सिमानामा पर्ने सामरी भ¥याङभुरुङबाट शुरु भएर दर्जनौं सहायक खोला र खोल्सी मिसिएर बग्ने थोपलखोला सिद्धलेक गाउँपालिकाको परेवाटारमा पुगेर त्रिशूली नदीमा मिसिएको छ । भ¥याङभुरुङबाट शुरु भएको खोला भएकोले भ¥याङभुरुङ र धुंवाकोट तिर पानी पर्न थालेपछि सदरमुकाम धादिङबेसीको पुछारवजार वसपार्क आसपासका वासिन्दालाई खोला बढ्ने होकि भन्ने चिन्ताले सताउने गरेको छ ।

विन्दुकेशरा समेत भनिने थोपलखोलाले हजारौं रोपनी जमिनमा सिञ्चित मात्रै गरेको छैन, बर्षातको भेलले ति खेतीयोग्य जमिन र खोला किनारका बस्तीलाई संकटमा समेत पार्दै आईरहेको छ ।
साउन २५ गते राती थोपल खोलामा आएको बाढीले नीलकण्ठ नगरपालिका वडा नम्बर १२ ढलेबरमा रोकिराखेको एउटा बस र एम्बुलेन्स नै बगाएको छ । मोटर ग्यारेजमा मर्मतका लागि लागि राखिएको बस र एम्बुलेन्स नै बाढीले बगाएको हो। राती आएको बाढीले बगाएको एम्बुलेन्स हराइरहेको छ भने बस आँसीखोला र थोपलखोलाको दोभानमा भेटिएको छ ।

अविरल वर्षाका कारण थोपल खोलामा ठूलो बाढी आएपछि धादिङ सदरमुकामस्थित खोला किनारका बस्ती नै संकटमा परेका छन । थोपल खोला छेउमा अस्थायी तथा स्थायी बसोबासका साथै अन्य पेशा व्यवसाय गर्दै आइरहेका सर्वसाधारणलाई बर्षेनी खोलाले त्रसित बनाउने गरेकोमा यो बर्ष निरन्तर बाढी आएर थप त्राहिमाम बनाएको हो ।

खोला किनारमा खेती योग्य जमिन मास्दै बस्ती बिस्तार हुनेक्रम बढ्दै गएपछि बाढीले बस्तीलाई नै संकटमा पार्न थालेको हो । यो वर्ष खोलामा पानीको सतह निकै बढेको छ । छेउछाउको बस्तीमा भेल–बाढी पस्न थालेपछि स्थानीयको बसोबास नै संकटमा परेको छ। नीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ र १२ को सिमानामा खोलाको त्रास बढ्दै गएको हो। खोला छेउमा बस्ती रहेको र पानीको बहाव बढ्न थालेपछि जुनकुनै बेला संकट आउन सक्ने भएकाले स्थानीयबासीहरु सुरक्षित स्थान खोज्दै भौंतारिन थालेका छन् धादिङबेसी पहरेचौतारादेखी बसपार्क र पुछारबजारसम्मकै थोपल किनारका क्षेत्र जोखिममा पर्दै गएको नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का सामाजिक अभियन्ता जनकप्रसाद ढकाल बताउनुहुन्छ ।

थोपलखोला किनारमा रहेका दर्जनौं बस्ती र खेतीयोग्य जमिनभित्र खोला पसेको छ । नदी नियन्त्रण र रोकथामका लागि पहल गरिदिन नीलकण्ठ नगरपालिकालाई अनुरोध गर्दा यस्तो काम प्रदेशको भन्दै जनप्रतिनिधि र कर्मचारीहरु पन्छिएको ढकालले गुनासो गर्नुभयो ।

अविरल वर्षापछि सदरमुकाम धादिङबेसीबाट साङकोष पण्डितचौर हुँदै पचघरे निस्कने सडकखण्डका ठाउँ–ठाउँमा पहिरो खसेर मोटर गुड्नै नसक्ने भएको छ । सडकमा पहिरो खसेपछि आवतजावतमा समस्या भएको छ।

पहरेचौतारा नजिकै पहिरोले सडक बगाएपछि सवारीसाधन गुड्न सकेका छैनन्। प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद खेमप्रसाद लोहनीले सोमबार नीलकण्ठ नगरपालिका वडा नम्बर ३ र १२ स्थित पहिरो प्रभावित क्षेत्रको अवलोकन गरी समस्या समाधानका लागि सरोकारवाला निकायको तत्काल ध्यानकर्षण गराउने प्रतिवद्धता जनाउनु भएको छ ।

धादिङबेसी पुछारवजार बसपार्कबाट पशुपतिडाँडा जाने सडकमा रहेको कजवेमा पानीको वहाब बढ्दा घण्टौं सम्म आवतजावत ठप्प हुने गरेको छ । सदरमुकाम धादिङबेसीबाट नीलकण्ठ नगरपालिकाको वडा नम्बर १२, १३ ११ का साथै छिमेकी गाउँपालिका नेत्रावती डवजोङ, खनियाबास रुवीभ्याली सम्म जाने मुख्य स्थल मार्गको रुपमा रहेको सडक खण्डको कजवेको विकल्पमा पक्कि मोटर पुल आवश्यक रहेपनि कसैले चासो नदेखाएको स्थानीय कल्याण तामाङ बताउनुहुन्छ ।

बाढी पहिरोले थोपलकनारमा मात्रै होइन जिल्लाका अधिकांश ग्रामीण सडक कामै नलाग्ने गरी बगाएको छ। करोडौं खर्च गरेर नयाँ ट्रयाक तथा मर्मत सम्भार गरिएका जिल्लाका अधिकांश सडक काम नलाग्ने अवस्थामा पुगेका हुन्।