धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा

894 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- लामो समयदेखि विग्रिएर काम गर्न छाडेको सदरमुकाम धादिङबेसीको अधिकांश सिसि क्यामेरा मर्मत गरी सञ्चालनमा ल्याईएको छ । जिल्ला प्रहरी कार्यालय धादिङमा कन्ट्रोल कक्ष राखेर सदरमुकाम धादिङवेँसीमा जोडिएका अधिकांश सीसी क्यामेरा बिग्रिएर काम गर्न छाडेका थिए ।

सदरमुकामको शान्ति सुरक्षालाई ध्यानमा राखेर बजार क्षेत्रमा ३८ स्थानमा सीसी क्यामेरा राखिएकामा केही महिनादेखि २१ वटाले काम गर्न छाडेका थिए ।पछि जिल्ला प्रहरी कार्यालयले मर्मतका लागि नीलकण्ठ नगरपालिकालाई आग्रह गरेको थियो ।

जिल्ला सदरमुकाममा सुरक्षा निगरानी गर्नका लागि नीलकण्ठ नगरपालिकाको सहयोगमा सीसी क्यामेरा जडान गरिएको थियो । सदरमुकामका मुख्यमुख्य चोक र मानिसहरूको भीडभाड बढी हुने स्थानमा सीसी क्यामरा जडान गरिएको छ।

सीसी क्यामेरा राखेपछि सुरक्षा अवस्था निगरानी गर्न सहयोग पुगेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेश खड्काले बताए ।

बजार क्षेत्रभित्र कहाँ के भइरहेको छ भनेर सीसी क्यामेरामा हेरेर प्रहरीले कन्ट्रोल रुमबाटै निगरानी गर्ने गरेको थियो ।

बिग्रिएका सीसी क्यामेरा नीलकण्ठ नगरपालिकाको सहयोगमा  प्रतिक कम्प्युटर सेन्टरका प्राविधिक टोलीले मर्मत गरेको हो । विग्रिएका मध्ये अब ४ वटा क्यामेरा मर्मत गर्न बाँकी रहेको र ति क्यामेरा पनि दशैं लगत्तै मर्मत गरिने प्रतिक कम्प्युटरका प्रोपाईटर तिलक सिम्खडाले जानकारी दिए । बिग्रिएपछि बन्द भएका सीसी क्यामेरा मर्मतका लागि नगरपालिकालाई अनुरोध गरिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।

सदरमुकामभित्र हुने चोरीका घटनाहरू, लुटपाट, सवारी दुर्घटना, महिला हिंसा, बालअधिकार हननलगायतका विभिन्न घटनाहरू नियाल्न र न्यूनीकरण गर्न क्यामेराले महत्त्वपूर्ण सहयोग गरेको खड्काको भनाइ छ ।