अस्ताए धादिङको पत्रकारिता क्षेत्रका ‘भिष्मपितामह’ सीताराम वर्मा

1213 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २१ कार्तिक । धादिङका अग्रज पत्रकार सीताराम वर्माको निधन भएको छ । नेपाल पत्रकार महासंघ धादिङका संस्थापक अध्यक्ष समेत रहनु भएका वर्माको काठमाडौ स्थित किष्ट अस्पतालमा उपचारको क्रममा शुक्रवार विहान निधन भएको हो ।

सिरहा जिल्लाको नवराज गाउँपालिका वडा नम्बर ५ को झाझपट्टी गाउँमा बिक्रम सम्बत २००२ साल चैत २ गते पिता पशुपति उपाध्याय र माता बिकादेवी उपाध्यायको जेष्ठ पुत्रका रुपमा बर्माको जन्म भएको थियो । ३० बर्ष निजामति सेवाको सुव्वा पदवाट अवकाश लिए पछि पत्रकारिता क्षेत्रमा जोडिनु भएका वर्मा गएको २० बर्ष देखि राष्ट्रिय समाचार समितिको जिल्ला समाचारदाता पदमा कार्यरत हुनुहुन्थ्यो ।वर्माले कान्तिपुर दैनिकको स्थापनाकाल देखि एक दशक सम्म समाचारदाताका रुपमा काम गर्नु भएको थियो ।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले स्थापना गरेको स्वतन्त्र पत्रकार सेनानी, प्रेस काउन्लि नेपालको कृयाशिल पत्रकारिता पुरस्कार, राष्ट्रिय समाचार समितिको कृयाशिल पत्रकारिता पुरस्कार लगायतका दर्जनौं पत्रकारिता पुरस्कार प्राप्त गर्नुभएका वर्मा नेपाल प्रेस युनियन धादिङ, रिपोर्टस क्लव,नेपाल निजामति कर्मचारी संघ, नेपाल ट्रेड युनियन काँग्रेस धादिङ शाखाका संस्थापक अध्यक्ष समेत हुनुहुन्थ्यो ।

पत्रकारिता संगै मानवअधिकार र सामाजिक न्यायका लागि नागरिक समाजको अगुवाका रुपमा पनि वर्माले उल्लेखनिय भूमिका निर्वाह गर्दै आउनु भएको थियो । वर्माको निधनबाट धादिङको पत्रकारिता क्षेत्रले अभिभावक गुमाएको छ भने नागरिक समाजले सच्चा पहरेदार गुमाउनु परेको छ ।

उहाँको निधन प्रति नेपाल पत्रकार महासंघ, नेपाल प्रेस यूनियन, प्रेस संगठन नेपालको केन्द्रिय समिति र ति संस्थाका धादिङ जिल्ला समितिले पनि छुट्टाछुट्टै बिज्ञप्ति निकालेर श्रद्धाञ्जली दिएको छ । जिल्लाका विभिन्न राजनैतिक दल, सामाजिक संघ संस्था, निजी क्षेत्र र व्यक्तिहरुले पनि वर्माको निधन प्रति सामाजिक सञ्जाल मार्फत दुःख व्यक्त गरेका छन् । यसै गरी धादिङ जिल्लाबाट प्रतिनिधि सभा सदस्य सांसदहरु भूमि त्रिपाठी, खेम लोहनी, वागमती प्रदेश सभाका सांसदहरु राजेन्द्रप्रसाद पाण्डे, डाक्टर रामकुमार अधिकारी, डाक्टर राजाराम कार्कीले पनि उहाँको निधन प्रति दुःख व्यक्त गर्दै मृत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजन प्रति समवेदना व्यक्त गरेका छन ।

बर्माका तीन छोरी दुई छोरा छन् । जेठा छोरा शालिकराम वर्माको भने चार बर्ष अघि निधन भएको थियो । कान्छी श्रीमती पवित्रादेवी वर्माको यहि कात्तिक १ गते निधन भएको थियो । जेठी श्रीमती लामो समय देखि नियमित उपचारमा हुनुहुन्छ । कान्छी श्रीमतीको निधन भएको तीन दिन पछि अचानक विरामी पर्नु भएका वर्मालाई किष्ट अस्पतालमा आईसियुमा राखेर उपचार गरिएको थियो । स्वास्थ्य अवस्थामा सुधार देखिएपछि साधारण कक्षमा उपचार शुरु गरिएको थियो भने , परिवारका चार सदस्यलाई कोरोना पोजेटिभ देखिएपछि उहाँको पनि स्वाब परिक्षण गरिएकोमा उहाँको रिपोर्ट नेगेटिभ आएको थियो । बुधबार अचानक स्वास्थ्य अवस्थामा समस्या देखिएपछि पन आईसियु कक्षमा राखेर उपचार गर्दा गर्र्दै वर्माको शुक्रवार विहान ५.४५ वजे तिर निधन भएको वर्माका भाई विजय वर्माले वताउनु भयो ।

बर्माको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको होे । अन्त्येष्टि गरिनु अघि पशुपति आर्यघाटमा पुगेर नेपाल पत्रका महासंघका सचिव रामप्रसाद दहालले वर्माको पार्थिव शरिरमा नेपाल पत्रकार महासंघको झण्डा ओढाउनु भएको थियो । त्यसै गरि नेपाली काँग्रेसका धादिङ जिल्ला सभापति रमेश धमला, काँग्रेसका नेता पूर्वराज्यमन्त्री दिलमान पाख्रिनले संयुक्त रुपमा पार्टीको झण्डा ओढाउनु भएको थियो ।बर्मालाई श्रद्धाञ्जली दिन काङ्ग्रेसका जिल्ला सचिव हरेराम बुर्लाकोटी, जिल्ला नेता एबम निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगाना, अर्का नेता तिलक रुवाली , देवि कोइराला लगायतका काङ्ग्रेस नेता कार्यकर्ताहरु आर्यघाट पुगेका थिए

अन्त्येष्टिका लागि वर्माका पारिवारिक सदस्यहरुका साथै उहाँका शुभचिन्तकहरुको उपस्थिती रहेको थियो । नेकपाका केन्द्रिय सदस्य एवम पूर्व मन्त्री राजेन्द्र पाण्डे, प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकी, काउन्सिलका मुख्य प्रशासकीय अधिकृत झविन्द्र भुसाल, सामुदायिक रेडियो प्रशारक संघका अध्यक्ष सुवास खतिवडा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य  हरिहर सिंह राठौर,  पत्रकार महासंघका धादिङ अध्यक्ष नवराज छत्कुली, प्रेस युनियनका केन्द्रिय सदस्य डाक्टर मुरारी अधिकारी, प्रेस संगठन नेपालका केन्द्रिय सदस्य केशव अधिकारी, रामेश्वर कार्की, संगठनका जिल्ला सह संयोजक सरोज पौडेल,जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य शुदर्शन खतिवडा, लगायतले आर्यघाट पुगेर स्वर्गिय वर्मालाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।