आठ महिना पछि खुले धादिङका शैक्षिक संस्था

797 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ ( कोरोना संक्रमण) का कारण गत बर्षको चैत महिना देखि बन्द रहेका धादिङ जिल्लाका अधिकांश शैक्षिक संस्थाले तिहारपछि भौतिक रुपमा पठनपाठन सुरु गरेका छन्।

संघीय सरकारको निर्देशन अनुसार मंसिर महिनाको पहिलो साताबाट धादिङका १३ वटै स्थानीय तहले विद्यालय सञ्चालन गरेका हुन । लामो समय शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित हुन थालेपछि र संघीय सरकारको निर्देशन अनुसार जिल्लाका स्थानीय तहले आवश्यक स्वास्थ्य सुरक्षा व्यवस्था सहित सरकारी तथा निजी विद्यालयमा पठनपाठनको अनुमति दिएका हुन् ।

स्वास्थ्य मापदण्ड पालना गर्दै शिक्षण सिकाइ क्रियाकलाप अघि बढाउन अधिकार प्रत्यायोजन भएपछि तिहारपछि जिल्लाका सबै स्थानीय तहले सुरक्षा सावधानीका साथ पठनपाठन सुचारु गराइसकेको शिक्षा विकास समन्वय इकाई धादिङका शाखा अधिकृत कृष्णकुमार श्रेष्ठले बताउनुभयो ।

लामो समयपछि विद्यालय खुले पनि विद्यार्र्थीमा कोरोना संक्रमणको त्रास भने हट्न सकेको छैन। अधिकांश माध्यमिक तहका विद्यालयले बिद्यार्थी चापअनुसार दुई सत्र बनाएर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय खुलाएको जनाएका छन्।

विद्यालयको पठनपाठनलाई नियमित गराउन स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने विधि, थर्मल गन चलाउने सीपबारे विद्यालयले तोकेका फोकल पर्सन ९शिक्षक–शिक्षिका० लाई आधारभूत जानकारी गराईएको गल्छी गाउँपालिकाका शिक्षा अधिकृत बुद्धिप्रसाद भट्टले बताउनुभयो ।

पठनपाठन शुरु गरेका विद्यालयलाई बिहानको प्रार्थना नगर्न, सकेसम्म एउटा बेञ्चमा दुई भन्दा बढि विद्यार्थी नराख्न, शिक्षक, विद्यार्थी र अभिभावकले अनिवार्य मास्क लगाउन, सामाजिक दूरी कायम गरेर बस्न आग्रह गरिएको पनि शिक्षा अधिकृत भट्टले जानकारी दिनुभयो ।

कुनै पनि शिक्षक विद्यार्थीलाई ज्वरो आए निको नभएसम्म विद्यालय नआउन, बिद्यार्थीहरु घर जाँदा कक्षाबाट सरासर घर पुग्ने वातावरण बनाउन, पाठ्यपुस्तक, कापीकलम, मार्कर, खेल सामग्री आदि एकअर्कासँग साटासाट नगर्ने, विद्यार्थी–विद्यार्थीबीच एकअर्कासँग घुलमिल हुन नदिनेलगायतका स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै विद्यालय खुलाउन निर्देशन दिइएको खनियाबास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण नेपालीले बताउनुभयो ।

विद्यार्थी संख्या बढी भएका बिद्यालयमा कक्षा र विद्यार्थीको रोल नम्बरलाई नै जोरबिजोर प्रणाली अपनाएर पठनपाठन सुचारु गरेका छन्।

कोरोना संक्रमण बढिरहेको भएपनि स्वास्थ्य संकट निम्तिन नदिन सावधानी अपनाउँदै पालिकाभरका विद्यालयमा स्वास्थ्य सुरक्षा सावधानीका साथ सामाजिक दूरी कायम गरेर पठनपाठन शुरु गरिएको धुनिबेसी नगरपालिकाका शिक्षा अधिकृत विकासराज खनालले वताउनु भयो ।

विद्यार्थी चाप कम भएका आधारभूत तहको कक्षालाई नियमित गर्ने तर मावि तहको पठनपाठनमा आलोपालो विधि अपनाएर पढाई शुरु गरिएको गजुरी गाउँपालिकाका शिक्षा अधिकृत भिमसेन बिष्टले जानकारी दिनुभयो ।

कोभिडका कारण आठ महिनादेखि बन्द रहेका विद्यालयहरुमा तिहार भौतिक रुपमा नै पठनपाठन सुरु गरेका हुन । बिद्यालयलहरुमा मात्रै होइन क्याम्पसहरुले पनि पठन पाठन शुरु गरेका छन् ।

सदरमुकाम धादिङबेसीमा रहेको नीलकण्ठ बहुमुखी क्याम्पसमा एक हजार हाराहारीमा विद्यार्थीहरु अध्ययनरत छन्। कोरोना महामारीका कारण ८ महिनादेखि बन्द रहेको स्नातक तथा स्नात्तकोत्तर तहको पठनपाठन विहिबारदेखि सञ्चालनमा आएको क्याम्पस प्रमुख नवराज शर्माले जानकारी दिनुभयो। स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई भौतिक दूरी कायम गर्दै क्याम्पसको पठन पाठन सुचारु गरिएको पनि क्याम्पस प्रमुख शर्माले बताउनुभयो।

एक बेञ्चमा २ जना मात्र विद्यार्थी बस्न पाउने, एक विषय ३५ मिनेट मात्र पढाई हुने, कक्षा भित्र शिक्षक यताउति हिड्न नपाइने, क्यान्टिन बन्द गर्ने, खानेपानी विद्यार्थी आँफैले ल्याउनुपर्ने, विद्यार्थीलाई छुन नपाइने, आफूखुशी शौचालय प्रयोग गर्न नपाइने, प्रत्येक शिक्षक, विद्यार्थीको ज्वरो नाप्ने लगायतका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई पठन पाठन सुचारु गरिएको क्याम्पस प्रमुख शर्माले जानकारी दिनुभयो ।

जिल्लाका अन्य सामुदायिक र निजी क्याम्पसहरुले पनि कक्षा सञ्चालन शुरु गरेका छन्। त्रिभुवन विश्वविद्यालयले मंसिर अन्तिम सातादेखि परीक्षा तालिका सार्वजनिक गरिसकेकाले कक्षा सञ्चालनको विकल्प नभएको नमुना वागेश्वरी बहुमुखी क्याम्पस बैरेनीका क्याम्पस प्रमुख बलराम खतिवडा बताउनुहुन्छ ।

गएको बिहीबारबाट जिल्लाका अधिकाँश विद्यालयहरु सञ्चालनमा आएका छन्। दशैँ अगाडि केही समय भौतिक रुपमा पठनपाठन भइ बन्द भएका विद्यालयहरुले पनि कक्षा सञ्चालन सुरु गरेका छन्। पालिका स्तरमा कार्यविधि बनाएर विद्यालय खोलिएका छन्। ज्वालामुखी गाउँपालिकाले विशेष चाडपर्व बाहेक शनिबार पनि विद्यालय सञ्चालन गर्ने गरी पालिकाका सबै विद्यालय खुल्ला गरेको पालिका प्रमुख विनोदराज तिमल्सिनाले बताउनुभयो ।

नीलकण्ठ नगरपालिकाले कार्यविधि बनाएर स्वास्थ्य सुरक्षा मापदण्ड बनाएर विद्यालय सञ्चालनको लागि अनुमति प्रदान गरेको छ। अन्य पालिकाहरुले पनि विद्यालय खुल्ला गर्न अनुमति दिएको र विद्यालयहरुले तिहार लगत्तै पठनपाठन सुरु गरेका छन्।