नीलकण्ठ बहुमुखी क्याम्पसको दोश्रो क्याम्पस सभा सम्पन्न

1052 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १३ मंसिर – निलकण्ठ बहुमुखी क्याम्पस धादिङबेशीको दोश्रो क्याम्पस सभा मंसिर १३ गते शनिबार धादिङबेसीमा सम्पन्न भएको छ ।
सञ्चालक समितिका अध्यक्ष रामनाथ अधिकारीको अध्यक्षतामा भएको क्याम्पस सभाको प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राध्यापक डाक्टर पुष्पराज कँडेल रहनु भएको थियो ।

सभाको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय योजना आयोगका डाक्टर कँडेलले शिक्षाको विकास र उन्नयन विना सभ्य समाज निर्माणको कल्पना गर्न नसकिने बताउनु भयो ।

मुलुकमा शैक्षिक विकास जुन गतिमा भईरहेको छ त्यसैमा मात्रै अल्झिएर बस्न नहुने सुझाव दिंदै उपाध्यक्ष कँडेलले अवको शैक्षिक जनशक्ति प्राविधिक बिषयमा उत्पादन हुनुपर्ने आवश्यकता औल्याउँदै नीलकण्ठ क्याम्पसले साधारण शिक्षाका साथै प्राविधिक शिक्षा तर्फ ध्यान पु¥याउनु पर्ने बताउनुभयो ।

धादिङबाट उत्पादन हुने शैक्षिक जनशक्तिले देशभर स्थान पाउने अवस्था बनाउन क्याम्पस संचालक टिमलाई आग्रह गर्दै उपाध्यक्ष कँडेलले भवन र भौतिक पुर्वाधारले मात्रै क्याम्पसको स्तरीयता मापन गर्न नसकिने भएकाले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने कुरामा जोड दिनु भयो ।
क्याम्पस सभालाई धादिङ जिल्ला क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सांसद खेमप्रसाद लोहनी, वागमती प्रदेश सभाका सांसदद्धय डाक्टर रामकुमार अधिकारी, डाक्टर राजाराम कार्की, नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुगाना, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष दुर्गकुमार शाक्यले पनि सम्वोधन गर्नु भएको थियो ।

यसै गरि नेपाली काँग्रेसका सभापति रमेश धमला, क्याम्पस संचालक समितिका सदस्य त्रिभुवन विश्व बिद्यालयका प्रतिनिधि डाक्टर सूर्यप्रसाद अधिकारी, बद्रीप्रसाद दहाल,वेदवहादुर खाँड,प्रकाश पौडेल लगायतले पनि सभालाई सम्वोधन गर्नु भएको थियो ।

क्याम्पस सभालाई सम्वोधन गर्ने बक्ताहरुले नीलकण्ठ बहुमुखी क्याम्पसले प्राप्त गरेको उपलव्धि जोगाउन सबैले सहकार्य गर्दै अघि बढ्नु पर्नेमा सुझाव दिएका थिए ।