सिस्नेखोला नागढुंगा सुरुङमार्ग निर्माण कार्यले अब गति लिने

1388 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

(सिस्नेखोला ) – नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माण कार्यले अब गति लिने भएको छ । पुसको १० गते देखि सुरुङमार्ग खन्ने गरी तयारी भइरहेको सुरुङमार्ग आयोजनाले जनाएको छ ।

आयोजना प्रमुख नरेशमान शाक्यका अनुसार “सुरुङमार्ग खन्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ । पुस १० बाट सुरुङ खन्ने काम सुरु गरिनेछ ।”

पुर्वनिर्धारित कार्यक्रम अनुसार मङ्सिर पहिलो हप्तादेखि नै सुरुङ खनिने लक्ष्य रहे पनि कोभिड–१९ जग्गाको मुआव्जा विवाद लगायतका कारण पूर्व निर्धारित समयमै शुरु हुन नसकेको आयोजनाले जनाएको छ । सुरुङमार्गको मुखमा राखिने स्टिलको फ्रेम राख्ने काम भइरहेकोले सुरुङ खन्न अब छिट्टै थालिने भएको हो  ।

प्रधानमन्त्री ओलीले गत बर्षको कात्तिक ४ गते उक्त सुरुङमार्ग शिलान्यास गर्नु भएको थियो । आयोजना प्रमुख शाक्यका अनुसार अहिले कार्यस्थलमा २० जना जापानी प्राविधिकसहित दुई सयभन्दा बढी जनशक्ति काममा खटिइरहेका छन ।

आयोजनाको  बारेमा जानकारी लिन सडक विभागका महानिर्देशक केशवकुमार शर्मा, उप महानिर्देशक अर्जुनजंग थापा, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल,धादिङका प्रमुख जिल्ला अधिकारी पुष्यविक्रम पौडेल सहायक प्रमुख जिल्ला अधिकारी रुद्रवहादुर मल्ल, धादिङका संचारकर्मीहरु सहितको टोली मंगलबार आयोजना स्थल पुगेका थिए ।

आयोजनाको बारेमा आयोजना प्रमुख शाक्य, आयोजनका इन्जिनियर कल्पना अधिकारी सुवेदी निर्माण कम्पनीका इन्जिनियर मृगेन्द्र काफ्लेले टोलीलाई जानकारी दिनु भएको थियो ।

थानकोट दहचोकदेखि–सिस्ने खोलासम्म सुरुङको लम्बाइ २.५ किलोमिटर चौडाइ ९.५ मिटर तथा उचाइ १८ मिटर हुनेछ । यो सडकले नागढुंगाबाट घुमेर जानुपर्ने बाटोको समय कम्तीमा ३० मिनेट बचत गर्नेछ । सडकको लम्बाइ आठ किमि कम हुनेछ। सुरुङमार्ग निर्माणपछि थानकोटबाट १० मिनेटमा नौविसे पुग्न सकिनेछ। यो आयोजना सम्पन्न गर्न कुल २२ अर्ब रुपैयाँ खर्च हुनेछ।