नयाँ नक्सा भएको १ रुपैयाँको ३० करोड सिक्का छाप्दै राष्ट्र बैंक

831 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ- लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नयाँ नक्साअंकित भएको सिक्का आउने भएको छ ।

भदौ २९ मा बसेको मन्त्रिपरिषद्‍को बैठकले नेपाल राष्ट्र बैंकलाई १ रुपैयाँ र दुई रुपैयाँको सिक्कामा नेपालको नयाँ नक्सा समेटेर छाप्न स्वीकृति दिएको थियो । सोही अनुसार ३० करोड सिक्का छाप्‍नका लागि राष्ट्र बैंकले टेन्डर खुलाएपछि नयाँ सिक्का आउने निश्चित भएको हो ।

पछिल्लो पटक २०७४ सालमा राष्ट्र बैंकले एक र दुई रुपैयाँ दरका सिक्का छापेको थियो । त्यस अघि ०६६ सालमा उक्त दरका सिक्का छापिएको थियो । त्यसबेला एक रुपैयाँ दरका ५२ करोड रुपैयाँक र दुई रुपैयाँ दरका ४४ करोड रुपैयाँको सिक्का छापिएको राष्ट्र बैंकले जनाएको छ ।

दुई रुपैयाँ दरका २० करोड सिक्का छाप्नका लागि पनि छिट्टै छुट्टै टेन्डर खुलाउने तयारी भईरहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

केही बर्ष यता राष्ट्र बैंकले एक र दुई रुपैयाँका कागजी नोट भने छाप्‍न छाडेको छ । अहिले राष्ट्र बैंकले पनि बढी प्रचलनमा आउने २०, ५०, १००, ५०० र हजारका नोट छापिरहेको छ । एक, दुई, पाँच र दशका नोटले वजारमा केही नआउने भएपछि बैकले त्यस्ता नोटको छपाई कम गर्दै लगेको छ ।