चोरीको मोटरसाईकल सहित धादिङका ३ युवा पक्राउ

1271 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडाैँ २३ पुस । चोरीको मोटरसाईकल सहित धादिङका ३ युवा ३ दिनको अन्तरमा पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखा बाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टे स्थित सडकखण्डबाट राजन मगर र राजन तामाङ चढेको मोटरसाईकल चेकजाँच गर्दा चोरीको भएको पुष्टि भएपछि उनिहरुलाई पक्राउ गरेको छ ।

 धादिङ्ग जिल्ला  निलकण्ठ नगरपालिका ९ मुरली भन्ज्याङ्ग बस्ने वर्ष २६ को राजन मगर र थाक्रे गाउँपालिका वडा नं १ देवीस्थान बस्ने वर्ष २१ को राजन तामाङ्ले सवार गरेको बा ९२ प ७६३० नम्वर कालो रातो रंङ्गको २२० सी.सी.को पल्सर मोटरसाईकललाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धानको क्रममा उक्त मोटरसाईकलको वास्तविक नं प्रदेश ३-०२-०१२ प ९८३५ खुल्न आएको छ ।

उक्त नम्वरको मोटरसाईकल २०७६ पुस २६ गते अं १९ः३० बजेको समयमा काठमाण्डौं सोह्रखुट्टे स्थित सडक खण्डबाट हराएको हुँदा खोज तलास गरी पाउँ भनि ट्राफिक महाशाखामा जिल्ला पर्सा ठोरी गाउँपालिका ९ बस्ने पूर्ण बहादुर थापाले दिएको हुलिया निबेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाईएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए।

यसै गरि दुई दिन अघि पनि मोटरसाइकल चोरी गर्ने कार्यमा संलग्न भएको भन्दै धादिङका अर्का एक युवक सहित २ जना  काठमाण्डौंबाटै पक्राउ परेका थिए ।
सादा पोसाकमा खटिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाकोे टोलीले आईतबार नयाँबजारस्थित सडक खण्ड र बालाजुस्थित सडक खण्डबाट २ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ चैनपुर बस्ने २२ वर्षिय आयुष थापा मगर र दोलखा भीमेश्वर नगरपालिका–३ भीमफेदी घर भई हाल काठमाडौं रानिवन बस्ने २४ वर्षिय रोशन लामिछाने रहेको ट्राफिक महाशाखाले जनाएको छ ।

 महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईका अनुसार आयुषलाई नयाँ बजार सडक खण्डबाट प्रदेश ३–०२–००८ प २६०७ नम्बरको कालोरातो २२० सिसिको पल्सर मोटरसाइकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । अनुसन्धान क्रममा उक्त मोटरसाइकलको वास्तविक नं लु ५२ प ७३३५ खुल्न आएको छ।

उक्त नम्बरको मोटरसाइकल मिति २०७६ भदौ ०६ गते काठमाडौं ठमेलस्थित भगवान बाहाल मन्दिरअगाडि पार्किङस्थलबाट हराएकाले खोजतलास गरिपाऊँ भनी कुमार राना मगरले महाशाखामा निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको महाशाखाले जनाएको छ ।

त्यस्तै दोलखाका रोशन लामिछानेलाई बालाजु सडकखण्डबाट बागमती प्रदेश ०२–०१७ प ३४४७ नम्बरको कालोरातो रंगको २२० सिसी को पल्सर मोटरसाइकल सहित पक्राउ गरिएको र उक्त मोटरसाइकल २०७७ मंसिर १४ गते काठमाडौं वनस्थलीबाट हराएकाले खोजी गरिपाउँ भनी रामकृष्ण ढकालले महाशाखामा निवेदन दिएका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।