विभिन्न कार्यक्रमका साथ भैरबी सहकारीको १९ औं बार्षिक साधारण सभा सम्पन्न

1389 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङबेसी- भैरबी बचत तथा ऋण सहकारी संस्था लिमिटेड धादिङबेसीको १९ औं बार्षिक साधारण सभा विभिन्न कार्यक्रमका साथ शनिवार सम्पन्न भएको छ ।


साधारण सभाले संस्थाका महासचिव रामलाल श्रेष्ठको केही महिना अघि असामयिक निधन भएपछि रिक्त हुन गएको महासचिव पदमा सचिव शान्तबिक्रम वानियाँलाई,सचिव पदमा राजकुमार श्रेष्ठलाई र सदस्य पदमा चिनामाया श्रेष्ठलाई चयन गर्ने संचालक समितिको निर्णयलाई अनुमोदन गरेको छ ।

संस्थाका अध्यक्ष इश्वरकुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभा समापन कार्यक्रमको प्रमुख अतिथि नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगाना रहनु भएको थियो ।कार्यक्रमको बिशेष अतिथिमा नीलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी, संस्थाका सल्लाहकार एवम अधिबक्ता बिष्णुकुमार श्रेष्ठ रहनु भएको थियो । पूर्व संचालक एवम महालक्ष्मी विकास बैक धादिङ शाखाका प्रवन्धक खिलप्रसाद सिलवाल लगायत अन्य बिशिष्ट व्यक्तिहरुको आतिथ्य रहेको थियो ।

कार्यक्रममा कर्मचारीहरु मध्ये बर्षभरीमा ३२ जना शेयर सदस्य बृद्धि गर्न सफल बचत सहायक गीता श्रेष्ठलाई सम्मान गरिएको थियो भने पूवं संचालक सदस्य खिलप्रसाद सिलवाललाई पनि सम्मान गरिएको थियो ।


कार्यक्रममा शेयर सदस्यका छोराछोरी मध्येबाट गत एसईइ परीक्षामा उत्कृष्ठ प्राप्ताङ्क ल्याउने सरकारी तथा निजी बिद्यालयमा अध्ययनरत ७ जना बिद्यार्थीलाई २५००  नगदका साथ सम्मान गरिएको थियो ।यसरी सम्मानित हुने बिद्यार्थीहरुमा श्रृया श्रेष्ठ,सीमा अधिकारी,युसुप मोहम्मद, दिपा कोईराला, स्मारिका काराखेती,सन्दिप लम्साल र राजेन्द्र लम्साल रहेका छन ।


साधारण सभाको अवसर पारेर संस्थामा शेयर खरिद, बचत, ऋण, बाल बचत र दैनिक बचतको असल कारोवार गर्ने   ४४ जना सदस्यहरुलाई सम्माान गरिएको थियो । त्यसै गरि कार्यक्रममा शेयर सदस्य स्वास्थ्य उपचार सहयोग कार्यक्रम अन्र्तगत रामहरि भण्डारी, गुणनारायण श्रेष्ठ र रेगन श्रेष्ठलाई २५ हजारका दरले नगद हस्तान्तरण गरिएको थियो ।


२०५७ साल चैत्र १४ गते स्थापना भई संचालनमा आएको भैरवी वचत तथा ऋण सहकारी संस्था लिमिटेडले हाल न्युन आयस्तर भएका मानिसहरुको पुँजीलाई एकत्रित गरी सामुहिक भावनाको विकास गराई आर्थिक विकासको क्षेत्रमा योगदान दिंदै आएको छ । संस्थामा हाल महिला ८६९ र पुरुष १०१३ समेत गरि १ हजार ८ सय ८५ जना शेयर सदस्य रहेका छन ।

संस्थाको कुल निक्षेप १५ करोड ४७ लाख ९५ हजार ६ सय ८२ रहेको छ भने कुल शेयर पुँजी रहेको २ करोड ८ लाख १ हजार रुपैयाँ रहेको छ । संस्थाले अहिले कुल ११ करोड ६९ लाख १८ हजार २ सय ११ रुपैयाँ ऋण लगानी गरिरहेको छ भने गत असार मसान्त सम्ममा सम्पूर्ण खर्च कटाई ३८ लाख ८ हजार ५ सय ९५ रुपैयाँ नाफा कमाउन सफल भएको जानकारी दिएको छ ।


संस्थाले बचत तथा ऋणको कारोवार मात्रै नगरि विभिन्न सामाजिक उत्तरदायित्व वहन गर्नुका साथै कोरोना महामारीको चपेटामा परेका आम शेयर सदस्यको हितलाई ध्यानमा राखी ऋणको व्याजमा १० प्रतिशत रकम छुट दिएको थियो ।