वाग्मती प्रदेश लोकसेवा आयोगले माग्यो १७४ अधिकृत स्तरका कर्मचारी

1592 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-वाग्मती प्रदेशमा रहेका १३ जिल्लाका विभिन्न स्थानीय तहका लागि वागमती प्रदेश लोक सेवा आयोगले १७४ अधिकृतस्तरका कर्मचारी माग गरेको छ ।प्रदेश लोक सेवा आयोगले पहिलो पटक स्थानीय तहका लागि अधिकृत स्तरका कर्मचारीको बिज्ञापन खुलाएको हो ।

 

स्थानीय तहले माग गरेका आधारमा बिज्ञापन खुलाएको प्रदेश लोकसेवा आयोगका निमित्त सचिव भोला दाहालले जानकारी दिए ।

आयोगले प्रशासनतर्फका ५९ र बाँकी सबै प्राविधिकतर्फका कर्मचारी माग गरेको हो । उनले १४९ खुलाबाट र २५ बढुवातर्फका कर्मचारी (हाल स्थानीय तहमा एक तहमुनि तहमा कार्यरत) माग गरेको बताए ।

माग गरिएका कर्मचारीमा लेखातर्फका छ , शिक्षामा छ , तथ्याङ्कमा एक , सिभिल इञ्जिनीयरतर्फका चौध , बिल्डिङतर्फका इञ्जिनीयर दुई , वातावरण इञ्जिनीयर एक , कृषि प्रसारमा पच्चीस , कृषि बागवानीमा एक , कृषि बाली संरक्षणमा दुई , पोल्टी डेरी डेभलपमेन्टमा नौ , मत्स्यमा एक , भेटनरीमा उन्नाइस् , कृषि एग्रीमा एक कर्मचारी रहेका छन् ।

आयोगले स्थानीय तहबाट आवश्यक माग गरिएका कर्मचारी माग गरेकोे हो । प्रदेशका मन्त्रालयबाट कुनै पनि कर्मचारी यसपटक माग गरिएको छैन ।

माग गरिएका स्थानीय तहका कर्मचारी विकट क्षेत्रका स्थानीय तहमा आवश्यक रहेको र करारमा राख्नका लागिसमेत अभाव भएकाले आयोगमार्फत कर्मचारी माग गर्ने गरेका छन् । प्रदेशको यसअघि चौथो र पाँचौँ तहका कर्मचारी माग गरेको आयोगले अहिले भने छैटौँ अधिकृतस्तरका कर्मचारी माग गरेको हो ।