असहाय बालबालिकालाई कार्यवाहक अध्यक्ष बुढाथोकीको सहयोग

947 पटक पढिएको

प्रकाशित मिति: २०७७, २७ माघ मंगलवार २०:५०

सम्पादक: धादिङ न्यूज

 

 

धादिङ । संरक्षक गुमाएपछि बिचल्लीमा परेका धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ३ खानीगाउँका ८ बालबालिकालाई प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले गैर खाद्य सामाग्रीहरु सहयोग गर्नु भएको छ ।

धादिङको वेनिघाटरोराङ गाउँपालिका वडा नम्बर ३ खानीगाउँ स्थित तीनकन्या वागेश्वरी आधारभूत विद्यालयमा पढिरहेका दुई परिवारका ८ जना बालबालिकालाई सहयोग गर्न कार्यवाहक अध्यक्ष बुढाथोकी र काउन्सिलका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र भुसाल सोमबार बिद्यालयमै पुग्नु भएको हो । अध्यक्ष बुढाथोकी संगै बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३का अध्यक्ष भुवन त्रिपाठी, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका कोषाध्यक्ष सीताराम अधिकारी, महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुली पनि बिद्यालय पुगेका थिए ।
प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्ष पदमा वहाल भएपछि सो वापत पाउने मासिक पारिश्रमिकको १० प्रतिशत सामाजिक हितका काममा खर्च गर्ने प्रतिबद्धताअनुसार आफूले संरक्षक गुमाएका बालबालिकालाई सहयोग गरेको अध्यक्ष बुढाथोकीले वताउनुभयो ।

बुढाथोकीले ८ जना बालबालिकाको लागि बिद्यालय पोसाक, झोला, ज्याकेट, जुत्ता, ओढ्नका लागि ब्ल्याङकेटलगायतका गैर सामाग्री सहयोग गरेका हुन् । यसै गरी गजुरी गाउँपालिका घर भई काठमाडौंमा बसेर व्यापार  गर्दै आईरहनु भएकी रीता अधिकारीले पनि ती बालबालिकालाई ट्रयाकसुट, टोपी, झोला सहयोग गर्नु भएको छ ।

घर नजिकैको विद्यालयमा पढ्दै आइरहेका ४ वर्षीय सिर्जल प्रजा, ५ वर्षीया आक्रोशी र १० वर्षीया रोशिका प्रजाको बाबुले दुई वर्षअघि झुण्डिएर आत्महत्या गरे श्रीमानले आत्महत्या गरेको केही महिनापछि श्रीमती ३ वटा बच्चालाई छाडेर अर्कैसँग बिहे गरेर हिँडेपछि बालबालिकाको विजोग भएको हो ।

बाबुआमा दुवै नभएका उनीहरु मावली घरमा सहारा लिएर बसिरहेका छन् । उनीहरुका हजुरबुबा र हजुरआमा दुवै वृद्ध भइसकेका छन् । सिर्जल इसिडीमा आक्रोशी १ कक्षामा र रोशिका ४ कक्षामा पढिरहेका छन् । उनीहरु सबैको पढाइ राम्रो रहेको र रोशिका विद्यालय टप भएको प्रधानाध्यापक जंगबहादुर लोहनीले वताउनुभयो ।


यसै गरी विद्यालयको इसिडीमा पढ्ने ३ वर्षीया गंगा र जमुना कक्षा १ मा पढ्ने ५ वर्षका सानुकान्छा, कक्षा २ मा पढ्ने १० वर्षका दावा र कक्षा ३ मा पढ्ने ११ वर्षकी गीता मगरको आमाले डेढ वर्षअघि झुण्डिएर आत्महत्या गरिन् । श्रीमतीको मृत्युपछि बालबालिकाका बाबुले अधिक रक्सी सेवन गरेर छोराछोरीको वास्ता गर्न छाडेपछि उनीहरु बिचल्लीमा परेका हुन् । पाँच जना बालबालिका निकै बुढाबुढी भइसकेका हजुरबा हजुरआमाको संरक्षणमा बस्दै आइरहेका छन् ।

एउटै गाउँका आठ जना बालवालिकाको नाजुक अव्स्थाका बारेमा विभिन्न सञ्चारमाध्यममा समाचार आउन थालेपछि फरक फरक संस्था र सहयोगी दाताहरुले त िबालबालिकाको लागि सहयोग उपलव्ध गराइरहेका छन् । यसअघि गत हप्ता हिमालय च्यारिटिज नेपाल (एचसिसी)ले धादिङ स्थित फण्डकिड नेपाल संस्थासँग समन्वय गरी संरक्षकविहीन बालबालिकालाई न्यानो कपडा, शैक्षिक सामग्री, खाद्यान्न सहयोग उपलब्ध गराएको छ ।


एचसिसीले अघिल्लो सोमबार संरक्षक गुमाएका आठ जना बालबालिकालाई न्यानो कपडा, कापीकलम दिनुका साथै खानाका लागि ५ हजारका दरले नगद सहयोग गरेको थियो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७७, २७ माघ मंगलवार २०:५० मा प्रकाशित